काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ आज राति १२ बजेदेखि प्रचार प्रसारमा निषेध गरेको छ। आयोगले सोमबार विज्ञप्तिमार्फत आज मध्यरातिदेखि प्रचारप्रसारमा निषेध गरेको जानकारी गराएको हो ।
आज मध्यरातिदेखि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगले जानकारी गराएको छ ।
त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन आयोगले अनुरोध गरेको छ ।
आयोगले निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको व्यवस्था गरेको जानकारी पनि गराएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij