२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

कांग्रेसका राष्ट्रियसभा उम्मेदवार , अनुभवी सिटौलादेखि जुझारु जितजंगसम्म !

कांग्रेसका राष्ट्रियसभा उम्मेदवार , अनुभवी सिटौलादेखि जुझारु जितजंगसम्म !

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनका लागि सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न ५२ जनाले मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल भएको छ । जसअनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सीटमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले गएराति कार्यसम्पादन समितिको बैठकबाट १० जना उम्मेदवार चयन गरेको थियो ।

कांग्रेसले आँकलन गरिएभन्दा फरक ढंगले पाकादेखि युवा नेतासम्मलाई राष्ट्रियसभामा अवसर दिदैछ । कांग्रेसबाट पूर्व उपप्रधानमन्त्री, संविधानका मस्यौदाकार एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलादेखि तरुण दलका पूर्व अध्यक्ष, नेविसंघका पूर्व महामन्त्री एवं पार्टी केन्द्रीय सदस्य जितजंग बस्नेतसम्मले राष्ट्रिय सभाको उम्मेदवार बन्ने अवसर पाएका छन् ।

कांग्रेसका उम्मेदवारमध्ये सिनियर कृष्ण सिटौला शान्तिप्रक्रिया, संविधानसभा र गणतन्त्र कार्यान्वयनका महत्वपूर्ण जिम्मेवारीहरु पूरा गरेका नेता हुन् । १३ औं महाधिवेशनमा कांग्रेस सभापतिको प्रत्याशी समेत रहेका सिटौलाले नेपालको संविधान २०७२ को मस्यौदा समितिको सभापति भएर योगदान गरेका थिए । उनलाई राष्ट्रियसभाको भावी अध्यक्षका रुपमा हेरिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा.शेखर कोइराला दुवैले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने घोषणा गरिसकेका छन् ।

कांग्रेसले मधेश प्रदेशबाट अर्का अनुभवी नेता आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । कांग्रेसको आन्तरिक राजनीतिमा चतुर नेताका रुपमा स्थापित ढुंगानाले गिरिजाप्रसाद कोइराला , सुशील कोइराला हुँदै शेरबहादुर देउवाकोसमेत कोर टिममा रहेर काम गरेका छन् । ढुंगाना २०४८,२०५१ र २०५६ सालमा धनुषाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । दोस्रो संविधानसभा सदस्यका रुपमा समेत योगदान गरेका ढुंगाना कांग्रेसको अनुशासन विभागका प्रमुखसमेत हुन् । उनी २०५५ सालमै पर्यटन मन्त्री बनेका थिए ।

सुदुरपश्चिबाट उम्मेदवार बनेका बलदेव बोहरा २०४९ सालमै कञ्चनपुरको जिल्ला विकास सभापति बनेका थिए । लामो समय कांग्रेसमा योगदान गरेका बोहरासँग कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टपनि कांग्रेसबाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनेका छन् । उनीपनि कांग्रेसमा लामोसमय योगदान गरेका तर उल्लेख्य अवसर नपाएका नेता हुन् ।

कर्णाली कांग्रेसका महामन्त्री कृष्णबहादुर रोकायापनि राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन् । माओवादी आधार क्षेत्र मानिने रुकुमपश्चिममा कांग्रेस संगठनमा रोकायाले लामो समयदेखि योगदान गरेका छन् । उनी नेविसंघ रुकुमको संस्थापक अध्यक्षसमेत हुन् ।

लुम्बिनीमा कांग्रेसले महिना नेतृ विष्णुकुमारी सापकोटा गुल्मी कांग्रेसकी पूर्व सचिव हुन् । लामो समयदेखि कांग्रेस संगठनमा सक्रिय उनीपनि यथोचित अवसर नपाउनेमध्येमा पर्छिन् । गण्डकी प्रदेशबाट कांग्रेसले गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियालाई उम्मेदवार बनाएको छ । श्रेष्ठ गण्डकी कांग्रेसका महामन्त्री हुन् भने परियार लामो समयदेखि दलित आन्दोलनमा सक्रिय छन् ।

कांग्रेसले बागमतीबाट महिला संघ काठमाडौंकी पूर्व अध्यक्ष विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको छ । पार्टीमा दशकौदेखि क्रियाशील पुडासैनीले अवसर पाउनुलाई कांग्रेसवृत्तमा सकरात्मक रुपमा हेरिएको छ । ललितपुरका युवा एवं जुझारु नेता जितजंग बस्नेतपनि वागमती प्रदेशबाटै राष्ट्रियसभा सदस्यको उम्मेदवार छन् । उनी तरुण दलका पूर्व अध्यक्ष एवं नेविसंघका पूर्व महामन्त्री हुन् । उनको उम्मेदवारीले युवाहरु प्रतिनिधित्व गरेको छ । उनी कांग्रेस केन्द्रीय समितिमा लोकप्रिय मतसहित विजयी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij