काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सरकारसँग लिखित जवाफ माग गरेको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको छ।
कार्कीले अन्तरिम आदेशसमेत माग गरे पनि सर्वोच्चले तत्काल त्यसबारे निर्णय गरेन । अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई उपस्थित गराई छलफल गर्नुपर्ने भन्दै अदालतले आगामी मंसिर ७ गतेका लागि पेसी तोकेको छ।
त्यसैगरी, मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपि तथा यससम्बन्धी अन्य कागजात भए महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको छ।
रिट निवेदनको विषयवस्तु संवेदनशील रहेको र शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै सर्वोच्चले नियम ७३ बमोजिम अग्राधिकारसमेत प्रदान गरेको छ।
यस आदेशसँगै कार्कीको रिटमा सरकारको लिखित जवाफ र दुवै पक्षबीचको छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुने भएको छ।
सरकारको निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । कात्तिक १८ गतेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो भने डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij