अस्टिन, टेक्सस – अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाईको पूजा गरिएको छ। अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा भएको पूजामा मधेशी समुदायसँगै अन्य नेपालीको पनि उल्लेख्य उपस्थिति रह्यो। अस्टिन र आसपासका सहरबाट पनि धेरै नेपाली छठ मनाउन मन्दिर परिसर आइपुगेका थिए।
ग्रेटर अस्टिन नेपाली सोसाइटी र अस्टिन छठ पूजा समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमका लागि मन्दिर परिसरमा विशेष तयारी गरिएको थियो। पूजास्थललाई आकर्षक ढंगले सजाइएको थियो भने व्रतालु र श्रद्धालुले सूर्यलाई अर्घ दिन सकून् भनेर कृत्रिम पोखरी नै बनाइएको थियो।
सोसाइटीका उपाध्यक्ष तथा मधेशी समुदायका अगुवा धीरेन्द्र यादवका अनुसार यस वर्ष छठ तीन दिन मनाइयो। नोभेम्बर १४ (शनिबार) खरना भएको थियो। नोभेम्बर १५ (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई र नोभेम्बर १६ (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम तय गरिएको थियो। सोमबार बिहानको पूजापछि प्रसाद वितरण गरेर पर्वको समापन गरिने सोसाइटीले जनाएको छ।
अघिल्ला वर्षहरूमा मधेशी समुदायले छुट्टै छठ आयोजना गर्दै आएको थियो। पछिल्लो समय भने ग्रेटर अस्टिन नेपाली सोसाइटीले अगुवाइ गरी सबै नेपालीलाई सामेल गराउँदै सामूहिक रूपमा पर्व मनाउन थालेको छ। प्रवासमा नेपाली भाषा, संस्कृति र चाडपर्वको जगेर्ना गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यसपालि पनि सामूहिक आयोजना गरिएको सोसाइटीका अध्यक्ष पदम ठकुराठीले बताए।
उनले भने, “हामी प्रवासमा मिनी नेपाल बनाउने अभियानमा छौँ। दसैँ, तिहार र छठ नेपाली समुदायको पहिचानसँग जोडिएका पर्व हुन्। छठ केवल मधेशी समुदायको होइन, सबै नेपालीको साझा सांस्कृतिक पर्व बन्नुपर्छ। त्यही भावनाले सबै मिलेर सामूहिक रूपमा छठ मनाउने परम्परा सुरु गरेका छौँ।”
छठ सूर्यदेव र छठीमाताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सन्तानको दीर्घायुको कामना गरिने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। मुख्यतः नेपालको तराई–मधेशमा श्रद्धापूर्वक मनाइने यो पर्व अहिले नेपालका अन्य समुदाय र विदेशमा बस्ने नेपालीबीच पनि लोकप्रिय बन्दै गएको छ।
आयोजकहरूका अनुसार सामूहिक आयोजनाले नेपाली समुदायबीच सद्भाव, एकता र सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउँछ। प्रवासमा विभिन्न जाति, भाषा र परम्परा भएका नेपाली एकै ठाउँमा भेला भई आ–आफ्ना मौलिक पर्व मनाउनु नेपालीपन र सामुदायिक एकताको सन्देश पनि हो। छठमा नेपाली समुदायको सहभागिता बढ्दै जानुले यो पर्व अब एउटा समुदायमा सीमित नरहेर सबै नेपालीको साझा पहिचानको पर्व बन्दै गएको देखाउँछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij