काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो ।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा भने विराटनगरसँग ३५ रनले पराजित भएको थियो ।
चितवनले भने तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराएको चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्ससँग वर्षाले खेल प्रभावित हुँदा अंक बाँडेको थियो । चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २१ बलमा ६ चौका र २ चौका हाने। इशान पाण्डे २५ रनमा एलबीडब्लु धरापमा परे। विनोद भण्डारी ११ र सैफ जैव २ रन बनाउँदै पेभेलियन फर्के। कप्तान दीपेन्द्र सिंह ऐरि गोल्डेन डकआउट भए। आरिफ शेख २० र सेरफाने रदरफोर्ड २१ रनमा अविजित रहे ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij