काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विद्यार्थी राजनीतिदेखि नै कांग्रेसको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कोइराला यसपटक सहमहामन्त्रीका सशक्त उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।
कोइरालाको राजनीतिक परिचय विद्यार्थी राजनीतिबाटै निर्माण भएको हो। पार्टी संगठनभित्र सक्रिय र जुझारु नेताका रूपमा चिनिएका उनले कांग्रेसको १२औँ महाधिवेशनबाट चितवन जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए। २०६७ देखि २०६९ सम्म चितवन कांग्रेसको नेतृत्व गरेका कोइरालाले जिल्लाको संगठनमा आफ्नो छुट्टै राजनीतिक प्रभाव बनाएका थिए।
उनको राजनीतिक यात्रा भने सधैँ सहज रहेन। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनका क्रममा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ बाट बागी उम्मेदवारी दिएपछि उनी पार्टी कारबाहीमा परेका थिए। त्यसक्रममा उनको क्रियाशील सदस्यतासमेत खोसिएको थियो। तर कारबाहीपछि पनि उनले कांग्रेस छाडेनन्। पार्टीभित्रै रहेर आफ्नो राजनीतिक धार र अन्तरसंघर्षलाई निरन्तरता दिँदै आएका छन्।
चितवन कांग्रेसमा उनको प्रभाव पछिल्ला वर्षहरूमा पनि चर्चामा रहँदै आएको छ। पूर्वजिल्ला सभापतिको हैसियतमा उनले आयोजना गरेका राजनीतिक तथा सामाजिक कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ता र समर्थकको उल्लेख्य उपस्थिति देखिएको थियो। यसले पनि चितवनको पार्टी राजनीतिमा उनको निरन्तर सक्रियता र संगठनात्मक सम्बन्धलाई संकेत गर्छ।
यसपटक सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै कोइरालाले कांग्रेसलाई पुरानो गुटगत शैलीबाट माथि उठाएर नयाँ सोच, नयाँ पुस्ता र रूपान्तरणको दिशामा अघि बढाउनुपर्ने धारणा अघि सारेका छन्। पार्टीभित्र पुस्तान्तरण र नयाँ राजनीतिक संस्कार आवश्यक रहेको उनको जोड छ।
कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्रीका विभिन्न क्लस्टरमा आकांक्षीहरूको संख्या बढिरहेका बेला कोइरालाले पनि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रा, चितवन कांग्रेसको जिल्ला सभापतिको अनुभव र पार्टीभित्रको संघर्षपूर्ण राजनीतिक पृष्ठभूमिका कारण विकास कोइरालाको उम्मेदवारीलाई सहमहामन्त्रीको प्रतिस्पर्धामा उल्लेख्य दाबेदारीका रूपमा हेरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij