२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कैलालीमा ८१ प्रतिशत मत पाएका विष्ट भन्छन् – कांग्रेसलाई गतिशील बनाउन काम गर्छु

कैलालीमा ८१ प्रतिशत मत पाएका विष्ट भन्छन् – कांग्रेसलाई गतिशील बनाउन काम गर्छु

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट गोरखबहादुर बिष्ट (आनन्द) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कुल ६९० मत खसेको मतदानमा बिष्टले ५६० मत प्राप्त गरेका हुन्। कुल मतको करिब ८१ प्रतिशत मतसहित निर्वाचित भएपछि बिष्टले आफूलाई मतदान गर्ने क्षेत्रीय प्रतिनिधि, वडा तहका सदस्य, पार्टीका कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

निर्वाचित भएपछि समर्थक तथा सञ्चारकर्मीसँग कुरा गर्दै बिष्टले संसदीय निर्वाचनदेखि हालसम्म कैलाली क्षेत्र नम्बर ४ का मतदाता तथा स्थानीय कांग्रेसजनबाट प्राप्त विश्वास, माया र सद्भावले आफूलाई थप ऊर्जा दिएको बताए। उनले यो निर्वाचनबाट प्राप्त फराकिलो मतले आफ्नो जिम्मेवारी अझ बढेको महसुस भएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध, अनुशासित र सुदृढ बनाउन तथा विकास र समृद्धिको अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

तीन दशकभन्दा लामो समयदेखि लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन, सामाजिक सेवा तथा जनजीविकासँग जोडिएका विषयमा सक्रिय रहँदै आएको बताउँदै बिष्टले बदलिँदो समय र नयाँ पुस्ताको अपेक्षाअनुसार कांग्रेसलाई थप गतिशील, उत्तरदायी र नतिजामुखी बनाउन आफूले भूमिका खेल्ने बताए। बिष्टले आफ्नो राजनीतिक सक्रियता व्यक्तिगत पद वा प्रतिष्ठाका लागि नभई जनता र पार्टीका कार्यकर्ताको सेवाका लागि भएको बताए। उनले कांग्रेसभित्र देखिने गुटगत गतिविधि र आन्तरिक असमझदारीभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध, मर्यादित र अनुशासित बनाउने आवश्यकता औँल्याए।

आफ्नो यही धारणा अनुरूप कैलाली क्षेत्र नम्बर ४ मा वडादेखि क्षेत्रीय तहसम्म नेतृत्व चयन सर्वसम्मत बनाउन आफूहरू सफल भएको उनको भनाइ छ। त्यस्तै, विदेशमा रहेका नेपालीले हासिल गरेको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा पनि बिष्टले जोड दिएका छन्। प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।

बिष्टले कांग्रेसलाई समयअनुकूल सुदृढ बनाउन नीतिगत स्पष्टता, युवा पुस्ताको सहभागिता, प्रविधिमैत्री संगठन, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको बताए। रोजगारी सिर्जना, उद्यमशीलता, आर्थिक रूपान्तरण तथा समावेशी र एकताबद्ध पार्टी निर्माणका विषयमा आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।

उनका अनुसार कांग्रेस निर्वाचन जित्ने राजनीतिक माध्यममा मात्र सीमित नभई मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा भूमिका खेल्ने राजनीतिक संस्थाका रूपमा स्थापित हुनुपर्छ। पार्टीलाई आधुनिक, पारदर्शी र जनविश्वास कायम गर्न सक्ने संगठनका रूपमा अघि बढाउन आफ्नो भूमिका रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij