२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

विचार र संगठनका अभियन्ता निलकण्ठ रिजालको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

विचार र संगठनका अभियन्ता निलकण्ठ रिजालको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य निलकण्ठ रिजालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित रिजाल लामो समयदेखि विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय छन्। उनले विद्यार्थी राजनीतिमार्फत संगठन निर्माण तथा युवा पुस्तालाई कांग्रेससँग जोड्ने विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएका छन्।

रिजालले बीपी कोइराला युवा नेतृत्व विकास मञ्चमार्फत युवा तथा विद्यार्थीबीच कांग्रेसको विचार र संगठनलाई विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनले नेपाल विद्यार्थी संघको इतिहास र गतिविधिसँग सम्बन्धित पुस्तकसमेत लेखेका छन्।

आफ्नो उम्मेदवारी बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई थप वैचारिक, संगठित र बलियो बनाउन केन्द्रित रहेको रिजालले बताएका छन्। विद्यार्थी तथा तरुण राजनीतिबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय समितिमा उपयोग गर्ने उनको भनाइ छ। “वर्तमानका चुनौती चिर्न सक्ने कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो,” रिजालले भनेका छन्, “विद्यार्थी र तरुण राजनीतिबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय समितिमा प्रभावकारी रूपमा उपयोग गर्न चाहन्छु।”

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन हुनेछ।

विद्यार्थी तथा तरुण राजनीतिमा लामो समय सक्रिय रहेका रिजालले आफूलाई वैचारिक राजनीति, संगठन निर्माण र युवा सहभागिताका मुद्दासहित केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। महाधिवेशनमा उनको उम्मेदवारीले युवा तथा विद्यार्थी राजनीतिबाट आएका प्रतिनिधिहरूको भूमिकालाई समेत बहसमा ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij