बाल्टिमोर, अमेरिका। नेपालमा लोकप्रिय बनेको नेपाली रेस्टुरेन्ट ब्रान्ड ‘बाजेको सेकुवा’ले अमेरिकी बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गरेको छ। ब्रान्डले मेरिल्यान्डको बाल्टिमोरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बाल्टिमोरमा नेपाली व्यवसायी राजन त्रिपाठी, कृष्ण जेबी पन्त र सुरेन्द्र रायमाझीको संयुक्त लगानीमा स्थापना गरिएको रेस्टुरेन्टमा १२ लाख अमेरिकी डलरभन्दा बढी लगानी भएको बताइएको छ। रेस्टुरेन्टको औपचारिक उद्घाटन रिबन काटेर गरिएको थियो। उद्घाटन समारोहमा नेपाली समुदायका अगुवा, स्थानीय व्यवसायी, निर्वाचित जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले ‘बाजेको सेकुवा’लाई केवल खानाको व्यवसायका रूपमा मात्र नभई नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई अमेरिकी समाजमा चिनाउने माध्यमका रूपमा प्रस्तुत गरे। सेकुवा, सुकुटीलगायत नेपाली मौलिक परिकारमार्फत अमेरिकी ग्राहकलाई नेपालको खानपान र सांस्कृतिक पहिचानसँग परिचित गराउने उद्देश्य रहेको उनीहरूको भनाइ थियो।

उद्घाटन समारोहमा नेपाली र गैरनेपाली निर्वाचित प्रतिनिधिहरूसँग समेत अन्तरक्रिया भएको थियो। सहभागी जनप्रतिनिधिहरूले नेपाली खानाको स्वाद, संस्कृति र आतिथ्यप्रति आफ्नो रुचि व्यक्त गरेका थिए। कार्यक्रमपछि अतिथिहरूका लागि नेपाली परिकार समेटिएको दिवाभोजको समेत आयोजना गरिएको थियो।
समारोहमा बोल्नेहरूले अमेरिकामा नेपाली उद्यमीहरूले गरिरहेको लगानीले समुदायको आर्थिक गतिविधि विस्तार गर्नुका साथै रोजगारी सिर्जनामा पनि योगदान पुर्याउने धारणा राखे। एक नेपाली–अमेरिकीको व्यावसायिक सफलताले त्यसको लाभ र सकारात्मक प्रभाव समुदायसम्म पुग्ने भएकाले नेपाली व्यवसायलाई समुदायबाट निरन्तर साथ र प्रोत्साहन आवश्यक रहेको उनीहरूले बताए।
नेपाली मौलिक खानालाई अमेरिकी बजारमा स्थापित गराउन समुदायका प्रत्येक सदस्यले भूमिका खेल्न सक्नेमा पनि कार्यक्रममा जोड दिइयो। नेपाली रेस्टुरेन्टमा अमेरिकी साथीभाइ तथा परिवारका सदस्यलाई ल्याएर नेपाली परिकारसँग परिचित गराउन सके नेपाली खानाको बजार र पहिचान थप विस्तार हुने सहभागीहरूको विश्वास थियो।
बाल्टिमोरमा भएको यो विस्तारलाई नेपालमा स्थापित नेपाली ब्रान्डको अन्तर्राष्ट्रिय यात्राको अर्को चरणका रूपमा हेरिएको छ। ठूलो लगानीसहित अमेरिकामा शाखा विस्तार हुनुले नेपाली व्यवसायीहरूको बढ्दो उद्यमशीलता र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने सम्भावनालाई समेत उजागर गरेको छ।
रेस्टुरेन्ट सञ्चालकहरूले नेपाली स्वाद र मौलिकतालाई कायम राख्दै गुणस्तरीय सेवा तथा आतिथ्य प्रदान गर्ने लक्ष्य लिएका छन्। बाल्टिमोर क्षेत्रमा नेपाली मौलिक खानाका लागि प्रमुख गन्तव्यका रूपमा रेस्टुरेन्टलाई स्थापित गर्ने उनीहरूको योजना छ।
उद्घाटन कार्यक्रममा सहभागीहरूले राजन त्रिपाठी, कृष्ण जेबी पन्त, सुरेन्द्र रायमाझीलगायत सम्पूर्ण टोलीलाई नयाँ व्यवसायिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij