अस्टिन / टेक्सस ।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी १० जना पर्वतारोहीको मृत्यु भएपछि पाकिस्तानी हिमालमा आरोही सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठेको छ। मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर पर्याप्त सुरक्षा तथा उद्धारको व्यवस्था नगरिएको आरोपसमेत लागेको छ।
हालै सगरमाथा आरोहण गरेका अमेरिकाको अस्टिन निवासी आरोही अमृत परियारले दुर्घटनापछि करिब १० घण्टासम्म आरोही टोलीसँग सम्पर्कको प्रयास नहुनु गम्भीर लापरबाही भएको बताएका छन्। उनका अनुसार समयमै उद्धार प्रयास सुरु भएको भए केही आरोहीलाई जीवितै उद्धार गर्न सकिने सम्भावना थियो।
हिमपहिरोमा परी ज्यान गुमाएका ६ नेपाली र ४ विदेशी पर्वतारोहीको सम्झनामा बिहीबार अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै परियारले तत्काल उद्धार संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिए।

नेपाल र पाकिस्तानको उद्धार प्रणालीको तुलना गर्दै उनले भने, “नेपालमा मौसमले साथ दिए ३० मिनेटभित्रै उद्धार प्रयास सुरु हुन्छ।”
ब्रोडपिक आरोहण टोलीको नेतृत्व ब्रिटिस–नेपाली आरोही निर्मल पुर्जाले गरेका थिए। सगरमाथा नौ पटक आरोहण गरिसकेका तथा ६ महिनाभित्र विश्वका १४ अन्य हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जाको नेतृत्वमा पाँच नेपाली शेर्पासहित टेक्सास निवासी एक महिला, एक चिनियाँ, एक ओमानी र एक पाकिस्तानी आरोही ब्रोडपिक आरोहणमा थिए।
आरोहणका क्रममा करिब ६,६०० मिटरको उचाइमा आएको हिमपहिरोमा परी उनीहरूको मृत्यु भएको हो।
श्रद्धाञ्जली कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै परियारले हिमाली आरोहणमा हिमपहिरो सबैभन्दा ठूलो जोखिममध्ये एक भए पनि दुर्घटनापछि छिटो उद्धार हुन सके धेरैको ज्यान जोगाउन सकिने बताए। पाकिस्तानको घटनामा १० घण्टासम्म आरोही टोलीसँग सम्पर्कको प्रयाससमेत नगरिएको भन्दै उनले सम्बन्धित निकायको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

“१० घण्टापछि मात्र सम्पर्कको प्रयास हुनु त्यहाँको पर्यटन विभागको गम्भीर कमजोरी हो,” उनले भने।
परियारले घटनाबारे नेपाल सरकारले समेत आवश्यक छानबिन गर्नुपर्ने माग गरेका छन्। अनुभवी ६ नेपाली आरोहीसहित १० जनाको मृत्यु हुनु नेपालका लागि ठूलो क्षति भएको उल्लेख गर्दै उनले पाकिस्तानी हिमालमा आरोही सुरक्षाको पर्याप्त प्रत्याभूति नभएसम्म नेपाली आरोहीलाई त्यहाँ आरोहणमा प्रतिबन्ध लगाउने विषयमा समेत सोच्नुपर्ने धारणा राखे।
मृतक आरोहीहरूको योगदानको सम्मानस्वरूप नेपालका ६ हजार मिटरभन्दा अग्ला हिमालमध्ये केहीलाई उनीहरूको नाममा नामकरण गर्नुपर्ने वा सगरमाथा आधार शिविरमा उनीहरूको शालिक स्थापना गर्नुपर्ने माग पनि परियारले अघि सारे।
श्रद्धाञ्जली कार्यक्रम ‘ग्रेटर अस्टिन नेपाली समाज’को आयोजनामा भएको हो। कार्यक्रममा समाजका अध्यक्ष पदम ठकुराठीले नेपाली आरोहीहरूले पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै मृतक आरोहीहरूप्रति सम्मान व्यक्त गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij