काठमाडौं । लामो समयदेखि अधिवेशन हुन नसकी विवादमा रहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आगामी अगस्ट १४, १५ र १६ मा गर्ने तयारी गरिएको छ। अधिवेशनको तयारीसँगै संगठनभित्र नयाँ विवाद पनि देखिएको छ।
केही महिनाअघि जनसम्पर्क समितिका तत्कालीन सभापति आनन्द विष्टलाई हटाएर नेपाली कांग्रेसले धन्नजय नरसिंह केसीलाई अमेरिकाका लागि संयोजकको जिम्मेवारी दिएको थियो। समाचार स्रोतका अनुसार, केसीको नियुक्तिलाई लिएर संगठनभित्र असन्तुष्टि रहेको छ। केही नेताहरूले उनी विगतमा आफूलाई पटक–पटक सभापति घोषणा गरेका विवादित व्यक्ति भएको दाबी गर्दै उनको नियुक्ति सम्बन्धका आधारमा भएको आरोप लगाएका छन्।
संयोजक बनेलगत्तै केसीले निर्वाचन समितिसहित विभिन्न संरचनामा फेरबदल गरेको र त्यसक्रममा इमान्दार कांग्रेसी कार्यकर्तालाई बेवास्ता गरिएको आरोप पनि लागेको छ। निर्वाचन समितिका संयोजक रहेका डा. विनोद साहलाई हटाएर सोही समितिका सदस्य भक्त थापालाई संयोजक बनाइएको बताइएको छ।

अधिवेशनको मिति नजिकिँदै जाँदा सदस्यता शुल्क पार्टीमा नबुझाई अधिवेशनको मिति र स्थान तोकिएको भन्दै थप प्रश्न उठेका छन्। नेपाली कांग्रेसको विधानअनुसार जनसम्पर्क समितिले सदस्य संख्या र सदस्यता शुल्क पार्टीको केन्द्रीय कार्यालयमा पठाएपछि मात्र अधिवेशनको मिति र स्थान निर्धारण गर्नुपर्ने व्यवस्था रहेको दाबी गरिएको छ। तर, केसीले उक्त प्रक्रिया पूरा नगरी अधिवेशनको मिति र स्थान घोषणा गरेको आरोप लगाइएको छ।
यसैबीच, अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेको समाचार स्रोतले जनाएको छ।
यस विषयमा नेपाली कांग्रेसका अर्का महामन्त्री प्रदीप पौडेलसँग सम्पर्क गर्दा उनले सदस्यता शुल्क प्राप्त नभएसम्म अधिवेशन हुन नसक्ने बताए। उनका अनुसार सदस्यता शुल्क पठाउन सम्बन्धित पक्षलाई पत्राचारसमेत गरिएको छ, तर हालसम्म शुल्क प्राप्त भएको छैन। पौडेलले सदस्यता शुल्क नबुझाई होटल बुकिङ वा अधिवेशनको मिति तय नगर्नसमेत निर्देशन दिइएको दाबी गरे।
यता अमेरिकामा रहेका नेपाली कांग्रेसनिकट कार्यकर्ताहरू भने पार्टीको विधि–विधानको पालना हुने कि नातावाद हाबी हुने भन्ने विषयलाई चासोका साथ हेरिरहेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij