२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अमेरिकाको अस्टिनमा ४४औँ विपी स्मृति दिवस : एकताको सन्देशसहित श्रद्धाञ्जली सभा सम्पन्न

अमेरिकाको अस्टिनमा ४४औँ विपी स्मृति दिवस : एकताको सन्देशसहित श्रद्धाञ्जली सभा सम्पन्न

अस्टिन  ।  नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइराला को ४४औँ स्मृति दिवस अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा श्रद्धापूर्वक मनाइएको छ। जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विपी कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, लोकतन्त्र, राष्ट्रिय मेलमिलाप, सामाजिक न्याय र राष्ट्रिय एकताप्रति उहाँले अघि सारेका सिद्धान्त तथा आदर्श आज पनि नेपाल र विश्वभर रहेका नेपाली समुदायका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको वक्ताहरूले बताएका छन्।

जनसम्पर्क समिति अस्टिन च्याप्टरका उपाध्यक्ष टुकप्रसाद चापागाईं को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव तिलक भण्डारी ले सञ्चालन गरेका थिए। कार्यक्रममा जनसम्पर्क समिति अमेरिका (पीआरसीसी) का उपाध्यक्ष सिपी पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसीसीका उपाध्यक्ष प्रदीप चौलागाईं, ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष पदम ठकुराठी, स्थानीय बुद्धिजीवी दीपक हुमागाईं, शम्मु दवाडी तथा पत्रकार झरना अधिकारी लगायतले विपी कोइरालाको व्यक्तित्व, राजनीतिक दूरदृष्टि, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान र उहाँका विचारको समसामयिक महत्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए।


वक्ताहरूले विपीले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’ को नीति तथा ‘प्रजातान्त्रिक समाजवाद’ को अवधारणा वर्तमान राजनीतिक परिवेशमा अझ बढी सान्दर्भिक बनेको उल्लेख गर्दै विभाजनभन्दा सहकार्य, संवाद र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले प्रवासमा रहेका नेपाली समुदायले पनि विपीका आदर्श र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए।



कार्यक्रममा सहभागीहरूले विपी कोइरालाले नेपाली राजनीति मात्र नभई साहित्य, राष्ट्रिय चेतना र लोकतान्त्रिक संस्कृतिको विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँका विचार नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे। प्रवासी नेपालीहरूबीच एकता, सहकार्य र लोकतान्त्रिक संस्कारलाई थप मजबुत बनाउन यस्ता स्मृति कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको थियो।



नेपालमा विपी स्मृति दिवसका अवसरमा राजनीतिक मतभेद र आन्तरिक विवादले चर्चा पाउने गरेका बेला अस्टिनमा भने कार्यक्रम आपसी सद्भाव, सम्मान र एकताको सन्देशका साथ सम्पन्न भएको सहभागीहरूले बताएका छन्।



कार्यक्रममा स्थानीय नेपाली समुदाय, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी तथा लोकतन्त्रप्रति आस्था राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij