२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

ज्ञान, संस्कृति र सेवाको संगम: एनआरएनए अमेरिकाको १५औँ साधारणसभा जुलाई १८–१९ मा

ज्ञान, संस्कृति र सेवाको संगम: एनआरएनए अमेरिकाको १५औँ साधारणसभा जुलाई १८–१९ मा

अस्टिन (टेक्सास)। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सन आगामी जुलाई १८ र १९, २०२६ मा टेक्सासको राउन्ड रकस्थित हलिडे इन अस्टिन नर्थ मा आयोजना हुने भएको छ। संस्थागत समीक्षा, भावी कार्यदिशा निर्धारण, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व तथा नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राखेर दुईदिने कार्यक्रम आयोजना गर्न लागिएको हो।

टेक्सासको राउन्ड रकस्थित हलिडे इन अस्टिन नर्थ (२३७० चिजहोल्म ट्रेल रोड, राउन्ड रक, टेक्सास–७८६८१) मा आयोजना हुने उक्त कार्यक्रममा अमेरिकाभरबाट एनआरएनएका सदस्य, आजीवन सदस्य, विभिन्न राज्यका पदाधिकारी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, व्यवसायी, युवा तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

संस्थाका प्रवक्ता सन्देश उप्रेती द्वारा जारी निमन्त्रणाअनुसार साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न विभाग तथा समितिका प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, पारदर्शिता, उत्तरदायित्व तथा गैरआवासीय नेपाली समुदायसँग सम्बन्धित समसामयिक विषयमा व्यापक छलफल हुनेछ। सदस्यहरूबाट प्राप्त सुझाव तथा रचनात्मक प्रस्तावलाई संस्थाको भावी कार्ययोजनामा समेट्ने तयारी गरिएको जनाइएको छ।

वार्षिक साधारणसभासँगै आयोजना हुने नलेज कन्भेन्सन कार्यक्रमको अर्को प्रमुख आकर्षण रहनेछ। सम्मेलनमा अमेरीकाभरि रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, उद्यमी, सूचना–प्रविधि विज्ञ तथा अन्य पेशाकर्मीहरूले आफ्नो ज्ञान, अनुभव र अनुसन्धान प्रस्तुत गर्नेछन्। नेपाली डायस्पोरामा रहेको ज्ञान, सीप र अनुभवलाई समुदाय तथा नेपालको विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।

नलेज कन्भेन्सनअन्तर्गत रामकुमार महतो ले ‘चक्र विज्ञान तथा योग’ विषयमा विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ। उक्त सत्रमा योग, चक्र विज्ञान, मानसिक तथा आध्यात्मिक स्वास्थ्य, ऊर्जा सन्तुलन, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीका विविध पक्षबारे अन्तरक्रियात्मक छलफल गरिनेछ।

कार्यक्रमको सामाजिक उत्तरदायित्वअन्तर्गत जुलाई १९ मा ब्लड डोनर्स अफ अमेरिका (BDA) को सहकार्यमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिनेछ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा १७ वर्ष वा सोभन्दा माथिका योग्य व्यक्तिहरू वैध फोटो परिचयपत्रसहित सहभागी हुन सक्नेछन्। आयोजकले रक्तदानअघि पर्याप्त पानी पिउन र भोजन गरेर मात्र सहभागी हुन आग्रह गर्दै मानव सेवाको यस अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

वार्षिक साधारणसभाको अर्को प्रमुख आकर्षण सांस्कृतिक कार्यक्रम हुनेछ। कार्यक्रममा अमेरिकामा रहेका नेपाली कलाकारहरूका साथै स्थानीय नानीबाबुहरूको आकर्षक नृत्य प्रस्तुति रहनेछ। विशेषगरी नेपाली समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने ‘मयूर नाच’ यस वर्षको सांस्कृतिक कार्यक्रमको विशेष आकर्षण रहने आयोजकले जनाएको छ। नेपाली भाषा, कला, संस्कृति र परम्परालाई विदेशमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले यस्ता सांस्कृतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइएको छ।

आयोजकका अनुसार यस वर्षको वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सन संस्थाको नियमित औपचारिक कार्यक्रम मात्र नभई नेपाली समुदायबीच सहकार्य विस्तार, अनुभव आदान–प्रदान, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने साझा मञ्चका रूपमा स्थापित हुनेछ। कार्यक्रममा सहभागीहरूबीच खुला अन्तरक्रिया, नेटवर्क विस्तार तथा समुदायका साझा मुद्दामा रचनात्मक छलफलसमेत हुने अपेक्षा गरिएको छ।

कार्यक्रमका Convener सुरेन्द्र लउडारी र प्रदीप चौलागाईं ले अमेरिकाभर रहेका एनआरएनएका सदस्य, आजीवन सदस्य, विभिन्न राज्यका पदाधिकारी, सञ्चारकर्मी, सामाजिक तथा सामुदायिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा तथा सम्पूर्ण नेपाली समुदायलाई १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आह्वान गरेका छन्। उनीहरूका अनुसार यो सम्मेलनले नेपाली समुदायबीच आपसी सहकार्यलाई थप सुदृढ बनाउनुका साथै ज्ञान, अनुभव र संस्कृतिको आदान–प्रदानका माध्यमबाट संस्थाको आगामी यात्रालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij