
सामना देवकोटा- अस्टिन, टेक्सास
अमेरिकामा जन्मिएका तथा हुर्किरहेका नेपाली बालबालिका र युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने उद्देश्यले बाल्टिमोरमा ‘इनास मेरिल्यान्ड कला केन्द्र’ स्थापना गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्यान्डको पहलमा स्थापना गरिएको उक्त केन्द्रले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत रूपमा काम गर्ने जनाएको छ।
केही दिनअघि आयोजित उद्घाटन समारोहमा मेरिल्यान्ड राज्यका डेलीगेट डा. ह्यारी भण्डारी तथा बाल्टिमोर डिस्ट्रिक्ट–७ का डेलीगेट प्रत्याशी, गीतकार एवं कवि सतीस चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। इनास मेरिल्यान्डका सल्लाहकार अमर छन्त्यालले पानसमा दीप प्रज्वलन गर्दै कला केन्द्रको औपचारिक उद्घाटन गरे।
इनास मेरिल्यान्डकी अध्यक्ष तथा चर्चित गायिका शान्ति भण्डारीले अमेरिकामा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिसँग जोड्ने उद्देश्यले कला केन्द्र स्थापना गरिएको बताइन्। उनका अनुसार केन्द्रमार्फत नियमित रूपमा नेपाली भाषा, संगीत तथा नृत्यका कक्षासँगै मादल, सारंगी र बाँसुरीजस्ता नेपाली मौलिक बाजाका प्रशिक्षणसमेत सञ्चालन गरिनेछ।
उद्घाटन समारोहमा प्रशिक्षक सारंगा श्रेष्ठ र कुशल पोख्रेलले कला केन्द्रमार्फत गुणस्तरीय प्रशिक्षण प्रदान गर्दै नेपाली कला र संस्कृतिलाई नयाँ पुस्तामाझ प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा इनासका क्षेत्रीय संयोजक राहुल केसी, केन्द्रीय उपाध्यक्ष विकास घले, इनास मेरिल्यान्डका संस्थापक लक्ष्मण पौडेल, इनास पेन्सिलभेनियाका अध्यक्ष अभिषेक थापा, नायिका पूजा चन्द, ग्रेटर बाल्टिमोर होम केयरका सञ्चालक चन्द्र उप्रेती, ब्राइट जोय एडल्ट डे केयरका सह–सञ्चालक तथा निर्देशक पाचा ल्याटोनलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
इनास मेरिल्यान्डको कार्यसमितिमा अध्यक्ष शान्ति भण्डारी, उपाध्यक्षहरू सारंगा श्रेष्ठ, राजु ढुंगेल र सुवास पोख्रेल, महासचिव गोपाल भण्डारी, कोषाध्यक्ष स्वरूपा रसाइली, सह–कोषाध्यक्ष सृजना कार्की, प्रवक्ता सुशील पंगेनी तथा सदस्यहरू निमा धमला, अमृता नेपाल, उज्ज्वल आचार्य, प्रविण लामा, पीआर देवकोटा, डेनी केसी र सज्जिव नेपाली रहेका छन्।
यस अवसरमा इनास केन्द्रका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, बाल्टिमोर होम केयरका सञ्चालक गणेश उप्रेती, युवा सल्लाहकार प्रविण भण्डारी, मास्टर कल्पना कार्की, आईटी सल्लाहकार कोशिस भण्डारी, डा. खेम क्षेत्री, समाजसेवी सुदर्शन पौडेल, स्याङ्जा समाजका महासचिव ज्ञान क्षेत्री, समाजसेवी सालिक वाग्लेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
शान्ति भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अमृता नेपालले गरेकी थिइन्।
समारोहमा बोल्दै डा. ह्यारी भण्डारी र सतीस चापागाईंले कला केन्द्र स्थापना प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने महत्वपूर्ण पहल भएको बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij