अस्टिन, टेक्सास । वेद, पुराण तथा शिवमहापुराणमा श्रावण महिनालाई भगवान् शिवको आराधनाका लागि वर्षकै सबैभन्दा पवित्र समयका रूपमा वर्णन गरिएको छ। धार्मिक मान्यताअनुसार यस अवधिमा भगवान् शिवको पूजा, जलाभिषेक, दुग्धाभिषेक, रुद्राभिषेक, बेलपत्र अर्पण, महामृत्युन्जय मन्त्र जप तथा साउने सोमबारको व्रत गर्दा आध्यात्मिक शान्ति, आरोग्य, पारिवारिक सुख, समृद्धि तथा मनोकामना सिद्ध हुने विश्वास रहिआएको छ। यही कारण श्रावण महिना सनातन हिन्दू धर्मावलम्बीका लागि विशेष श्रद्धा र भक्तिको महिनाका रूपमा मनाइन्छ।
यही धार्मिक परम्परालाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यले टेक्सासको हट्टोस्थित श्री पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभर विशेष दिव्य महाआरती गरिने भएको छ। ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को व्यवस्थापनमा सञ्चालन हुने विशेष दिव्य महाआरतीको सम्पूर्ण तयारी पूरा भएको श्री पशुपतिनाथ मन्दिरका महासचिव सूर्य कार्कीले जानकारी गराए।
कार्कीका अनुसार प्रत्येक साउने सोमबार विशेष महा रुद्राभिषेक, रुद्राभिषेक, अर्चना तथा दिव्य शिव भजन–कीर्तन हुनेछ। साँझ तीन जना वैदिक पण्डितको संयुक्त सहभागितामा विशेष दिव्य महाआरती हुनेछ भने त्यसपछि श्रद्धालुहरूलाई महाप्रसाद वितरण गरिनेछ। वैदिक विधिअनुसार सम्पन्न हुने पूजा–आराधनामा सहभागी भई भगवान् पशुपतिनाथको दर्शन तथा आशीर्वाद ग्रहण गर्ने अवसर भक्तजनले प्राप्त गर्नेछन्।
ग्यान्सका अध्यक्ष पदम ठकुराठीका अनुसार अमेरिकाका विभिन्न स्थानमा हिन्दू मन्दिर सञ्चालनमा रहे पनि यस वर्ष श्रावण महिनामा तीन जना वैदिक पण्डितको संयुक्त सहभागितामा हुने यस्तो विशेष धार्मिक आराधना अमेरिकाभरि हट्टोस्थित श्री पशुपतिनाथ मन्दिरमा मात्र हुनेछ। यस विशेष धार्मिक अवसरले अमेरिकाका विभिन्न राज्यमा रहेका श्रद्धालुलाई एकै स्थानमा भेला भई सामूहिक रूपमा भगवान् शिवको आराधना गर्ने अवसर प्रदान गर्ने उनले बताए।
श्री पशुपतिनाथ मन्दिरका महासचिव सूर्य कार्कीका अनुसार श्रावण महिना धार्मिक अनुष्ठानको समय मात्र नभई आत्मशुद्धि, संयम, सेवा र आध्यात्मिक जागरणको अवसर पनि हो। प्रवासमा रहेका नेपाली तथा सम्पूर्ण हिन्दू धर्मावलम्बीलाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले विशेष दिव्य महाआरतीको व्यवस्था गरिएको बताए।
श्रावणका चारै सोमबार जुलाई २०, जुलाई २७, अगस्ट ३ र अगस्ट १० मन्दिर बिहान ८:३० बजेदेखि राति ९:३० बजेसम्म दर्शनका लागि खुला रहनेछ।
भक्तजनका लागि महा रुद्राभिषेक (करिब १ घण्टा ३० मिनेट) बिहान १०:००, दिउँसो १२:००, २:००, ४:०० र साँझ ६:०० बजे हुनेछ। यसका लागि ५१ अमेरिकी डलर सहयोग राशि निर्धारण गरिएको छ।
त्यसैगरी रुद्राभिषेक (करिब ३० मिनेट) तथा अर्चना (करिब १५ मिनेट) बिहान १०:०० बजेदेखि राति ८:०० बजेसम्म प्रत्येक ३० मिनेटमा हुनेछ। यी सेवाका लागि २१ अमेरिकी डलर सहयोग राशि तोकिएको छ।
साँझ ८:०० बजे हुने विशेष दिव्य महाआरतीमा सहभागी हुन वा प्रायोजन गर्न चाहने भक्तजनका लागि २१ अमेरिकी डलर सहयोग राशि निर्धारण गरिएको छ। महाआरतीका क्रममा भक्तजनको नाम र गोत्रसहित संकल्प गरिने व्यवस्था रहेको छ।
पूजा वा महाआरती प्रायोजन गर्न इच्छुक भक्तजनले Zelle मार्फत mailto:pashupatinath.us@gmail.com मा सहयोग पठाई आफूले सहभागी हुन चाहेको पूजाको समय उल्लेख गर्न सक्नेछन्।
ग्यान्सका अध्यक्ष र श्री पशुपतिनाथ मन्दिरका महासचिवका अनुसार, यस्ता धार्मिक गतिविधिले प्रवासमा हुर्कँदै गएको पुस्तालाई आफ्नो धर्म, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
साथै यस्ता धार्मिक गतिविधिले नेपाली समुदाय तथा सम्पूर्ण हिन्दू धर्मावलम्बीबीच आपसी सद्भाव, धार्मिक आस्था, संस्कृति र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै अस्टिनलगायत अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने सम्पूर्ण हिन्दू धर्मावलम्बी दाजुभाइ, दिदीबहिनी, आमाबुबा, युवा तथा बालबालिकालाई परिवारसहित श्रावण महिनाको विशेष दिव्य महाआरतीमा सहभागी भई भगवान् पशुपतिनाथको दर्शन, पूजा तथा महाप्रसाद ग्रहण गर्न हार्दिक आग्रह गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij