२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

परिवारको अन्तिम इच्छा पूरा गर्दै NSCT को समन्वयमा मिलन महर्जनको हिन्दू–बौद्ध परम्पराअनुसार अन्त्येष्टि

परिवारको अन्तिम इच्छा पूरा गर्दै NSCT को समन्वयमा मिलन महर्जनको हिन्दू–बौद्ध परम्पराअनुसार अन्त्येष्टि

अस्टिन, टेक्सास | जुन १९, २०२६

बाहिर हल्का वर्षा भइरहेको थियो। अन्त्येष्टि स्थलमा वातावरण असाध्यै मौन र भावुक थियो। उपस्थित धेरैका आँखा रसाएका थिए भने आफ्ना जीवनसाथीलाई अन्तिम बिदाइ दिँदै गरेकि उनकी श्रीमतीको पीडा शब्दमा बयान गर्न कठिन थियो। प्रकृतिको वर्षा र उपस्थितहरूको आँखाबाट बगेका आँसुले त्यो क्षणलाई झन् मार्मिक बनाइरहेको थियो। त्यहाँ उपस्थित प्रत्येक व्यक्तिको मनमा एउटै भावना थियो—समय यति निर्दयी नबनोस् भन्ने।

यही भावुक वातावरणबीच गत जुन १४ मा टेक्सासको टेम्पलमा भएको दुःखद सवारी दुर्घटनामा निधन भएका ३७ वर्षीय नेपाली मिलन महर्जनको आज नेपाली परम्परा, संस्कार तथा परिवारको अन्तिम इच्छाअनुसार हिन्दू र बौद्ध दुवै धार्मिक विधिबाट अन्त्येष्टि सम्पन्न गरिएको छ।

काठमाडौं महानगरपालिका–१२, टेकु घर भएका महर्जन रोजगारीका सिलसिलामा अमेरिकाको टेम्पल टेक्सासमा बसोबास गर्दै आएका थिए। आईटी क्षेत्रमा कार्यरत उनी आफ्नी श्रीमतीसँग करिब डेढ वर्षदेखि आफ्नै घरमा बस्दै आएका थिए। जुन १४ का दिन काममा जाने क्रममा टेम्पलस्थित वेस्ट एडम्स एभिन्यू र नर्थवेस्ट एच.के. डजेन लुप नजिक उनको सवारीसाधन अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किएको थियो। दुर्घटनापछि गाडीमा आगलागी हुँदा घटनास्थलमै उनको दुःखद निधन भएको थियो।

नेपालबाट आमाबुबा तथा नजिकका परिवारका सदस्यहरू अमेरिका आउन नसक्ने परिस्थितिका कारण परिवारको एउटा अन्तिम इच्छा थियो—आफ्नो छोराको अन्तिम बिदाइ नेपाली संस्कारअनुसार होस् र हिन्दू तथा बौद्ध दुवै धर्मप्रतिको परिवारको आस्थालाई सम्मान गर्दै अन्त्येष्टि गरियोस्। सोही इच्छालाई सम्मान गर्दै आज दुवै धार्मिक परम्पराअनुसार अन्त्येष्टि सम्पन्न गरिएको हो।

बौद्ध धर्मअनुसार लामा गुरु मनबहादुर तामाङले धार्मिक विधि सम्पन्न गराउनुभयो भने हिन्दू धर्मअनुसार पण्डित रत्नप्रसाद कोइरालाले वैदिक विधिअनुसार अन्त्येष्टि सम्पन्न गराउनुभयो। दुवै धार्मिक अगुवाको उपस्थितिमा सम्पन्न भएको यस कार्यले परिवारको अन्तिम इच्छालाई सम्मान दिएको सहभागीहरूले बताएका छन्।

अन्त्येष्टिमा अस्टिन, डलास तथा टेक्सासका विभिन्न सहरबाट नेपाली समुदायका सदस्यहरू, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू, शुभेच्छुक तथा आफन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालबाट आमाबुबा उपस्थित हुन नसकेको अभावलाई समुदायले आफ्नै परिवारको पीडा सम्झेर आत्मीयतापूर्वक साथ दिएको दृश्यले सबैलाई भावुक बनाएको थियो।

जीवनसाथी गुमाएको असह्य पीडामा रहेकी उनकी श्रीमतीलाई सान्त्वना दिने क्रममा उपस्थित धेरैका आँखा रसाएका थिए। अस्टिनस्थित मिलन महर्जनका अत्यन्त निकट साथी संगम लगायत यहाँ रहेका साथीभाइ, आफन्त तथा नेपाली समुदायले निरन्तर साथ दिँदै उनलाई मानसिक रूपमा सम्हाल्ने प्रयास गरिरहेका छन्। दुःखको यस घडीमा उनीहरू भावनात्मक, नैतिक तथा व्यावहारिक सहयोगका साथ परिवारको साथमा उभिएका छन्।

अन्त्येष्टिको सम्पूर्ण व्यवस्थापन तथा समन्वय Nepali Society of Central Texas (NSCT) ले गरेको थियो। यस कार्यमा संस्थाका अध्यक्ष चन्द्र लामिछाने, उपाध्यक्ष उज्ज्वल भट्टराई, कोषाध्यक्ष महेन्द्र पौडेल, उपमहासचिव सुशील बास्तोला, महासचिव डा. मुनिश शर्मा लगायत NSCT का पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूले सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्दै परिवारलाई हरेक चरणमा साथ दिएका थिए।

स्वर्गीय महर्जनको निधनपछि परिवारमाथि परेको आर्थिक भारलाई केही कम गर्ने उद्देश्यले NSCT ले GoFundMe मार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको छ। समाचार तयार पार्दासम्म अभियानमा १५,४४१ अमेरिकी डलर संकलन भइसकेको छ, जुन ३० हजार अमेरिकी डलर लक्ष्यको करिब ५१ प्रतिशत हो।

NSCT का अध्यक्ष चन्द्र लामिछानेका अनुसार अभियानबाट प्राप्त रकमबाट आवश्यक प्लेटफर्म तथा प्रशासनिक शुल्क कटाएर बाँकी सम्पूर्ण रकम स्वर्गीय महर्जनकी श्रीमतीलाई हस्तान्तरण गरिनेछ, जसले अन्त्येष्टिपछिको आर्थिक व्यवस्थापन तथा आगामी जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

NSCT का महासचिव डा. मुनिश शर्मा तथा स्वर्गीय मिलन महर्जनका निकट मित्र संगमका अनुसार विदेशी भूमिमा नेपाली समुदायका एक सदस्यको असामयिक निधनले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ। तर यही दुःखको घडीमा समुदायले देखाएको एकता, आत्मीयता, सहकार्य र मानवीय संवेदनाले विदेशमा पनि नेपालीहरू एकअर्काको सुख–दुःखमा परिवारझैँ साथमा उभिने संस्कार अझै जीवित रहेको सन्देश दिएको छ। स्वर्गीय मिलन महर्जनको अन्तिम बिदाइ केवल एउटा अन्त्येष्टि मात्र रहेन, यसले नेपाली समुदायको एकता, मानवीयता र पारिवारिक सम्बन्धको गहिरो उदाहरण पनि प्रस्तुत गरेको बताए।

स्वर्गीय मिलन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।🪔

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij