अस्टिन, टेक्सस —
अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली अमृत परियारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै बलात्कार र यौन हिंसाविरुद्ध सामाजिक सचेतनाको सन्देश दिएका छन् ।
पोखरा–१९, कास्की नेपालका अमृत परियारले २१ मे २०२६ राति १२:१६ बजे सगरमाथाको चुचुरोमा पुगेर पीडित छोरीहरूको न्यायको माग गर्दै विशेष ब्यानर फहराएका हुन् । उनले ‘बलात्कार रोकौं, छोरीहरू सुरक्षित बनाऔं’ भन्ने सन्देशमार्फत समाजमा बढिरहेका हिंसाका घटनाविरुद्ध आवाज उठाएका छन् ।
अमृतका लागि सगरमाथा आरोहण केवल व्यक्तिगत सपना पूरा गर्ने यात्रा मात्र थिएन । उनले हिमालको सर्वोच्च शिखरलाई सामाजिक न्यायको सन्देश फैलाउने माध्यम बनाएका हुन् । बलात्कारपछि हत्या गरिएका तथा यौन हिंसामा परेका पीडितहरूले न्याय पाउनुपर्ने मागसहित उनले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
पोखरा–१९ मा जन्मिएका अमृत परियार रामु परियार र देउमाया परियारका छोरा हुन् । उनले श्री भारती भवन उच्च माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरेका थिए । नेपालमा उनले करिब ५ वर्ष डेन्टल हाइजिनिस्टका रूपमा काम गरेका थिए ।
अवसर र भविष्यको खोजीमा अमेरिका पुगेपछि पनि अमृतको नेपालप्रतिको सम्बन्ध र सामाजिक सरोकार भने निरन्तर रह्यो । हाल टेक्ससको हट्टोमा बस्दै आएका उनले आफ्नो सगरमाथा यात्रा एउटा सामाजिक अभियानका रूपमा अघि बढाएका हुन् ।
सगरमाथा आरोहण आफैंमा अत्यन्त कठिन र जोखिमपूर्ण यात्रा हो । उच्च हिमाली क्षेत्रको चुनौती, प्रतिकूल मौसम र शारीरिक कठिनाइ पार गर्दै अमृतले आफ्नो लक्ष्य पूरा गरेका हुन् ।
आरोहणपछि अमृतले सन्देश दिँदै भनेका छन्, “छोरीहरू सुरक्षित बाँच्न पाउनुपर्छ, हिंसा अन्त्य हुनुपर्छ र पीडितहरूले न्याय पाउनुपर्छ ।”
सगरमाथाको शिखरबाट उठेको अमृत परियारको यो आवाजले हिमाल आरोहणलाई केवल साहसको कथा नभई सामाजिक परिवर्तनका लागि गरिएको अभियानको रूपमा प्रस्तुत गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij