
अस्टिन, टेक्सास । प्रवासमा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति तथा पहिचानसँग जोड्ने उद्देश्यले International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट शो २०२६’ मेरिल्यान्डको बाल्टिमोरमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा प्रवासमा जन्मिएका तथा हुर्किएका नेपाली बालबालिकाले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आर्याल प्रमुख अतिथि तथा मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी र ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमप्रति आफ्नो विशेष चासो रहेको उल्लेख गर्दै आर्यालले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रमको संयोजन सुशील पंगेनीले गरेका थिए भने अमृता नेपालको सञ्चालनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। बालबालिकासँग नेपाली भाषामै गरिएको संवाद तथा व्यवस्थित सञ्चालनले दर्शकको प्रशंसा पाएको थियो।
गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान र भगवान भण्डारी, नृत्यतर्फ वरिष्ठ कलाकार उषा पौडेल, पूजा चन्द र सारंगा श्रेष्ठ तथा नेपाली भाषा वक्तृत्वकलातर्फ डा. रानी साक्य, कवि सुनिता बस्नेत र कवि नीर थापा निर्णायक मण्डलमा रहेका थिए।
प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल च्याम्पियन बने। उत्कृष्ट प्रदर्शनका आधारमा निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्स्ली मगर, समृद्धि पाथदेउती, संगीत पहारी तथा मिरन लिम्बु टप–१० फाइनलिस्टमा छनोट भए।
कार्यक्रमका प्रमुख प्रायोजक तथा संस्थापक सल्लाहकार अमर छन्त्याल र सह–प्रायोजक इन्द्र थापाको विशेष योगदान रहेको थियो। संस्थाका निवर्तमान अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल कार्यक्रम व्यवस्थापनमा सक्रिय थिए।
यस अवसरमा मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारीले इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारी तथा कार्यक्रम संयोजक सुशील पंगेनीलाई नेपाली भाषा, कला, संस्कृति तथा समुदायप्रति पुर्याएको योगदानको सम्मानस्वरूप Maryland General Assembly बाट सम्मानपत्र प्रदान गरे।
कार्यक्रममा सहभागी सबै बालबालिकालाई नेपाली झण्डासहितको खादा, मायाको चिनो, प्रमाणपत्र तथा जनही ५० डलर प्रदान गरिएको थियो। साथै टप–१० फाइनलिस्टलाई १०० डलर र प्रत्येक विधाका च्याम्पियनलाई ५०० डलर पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा शान्ति भण्डारी, सुशील पंगेनी तथा लक्ष्मण पौडेलले संयुक्त रूपमा ‘इनास कला केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन्। उक्त केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा तथा जुम्बा कक्षा सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सह–संयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा, इनास भर्जिनिया अध्यक्ष विश्व पौडेल, सल्लाहकार राजु केसीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा आयोजक इनास मेरिल्यान्डले प्रायोजक, निर्णायक, सञ्चारकर्मी, फोटोग्राफर, स्वयंसेवक, अभिभावक तथा सहभागी बालबालिकाप्रति आभार व्यक्त गरे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij