२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

एक सदस्यले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो

एक सदस्यले निर्णय फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई तत्कालको सङ्कट टर्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिएका छन् । योसँगै पार्टीको संसदीय दलभित्र देखिएको सङ्कट तत्काललाई टरेको छ ।

प्रस्ताव फिर्ता लिएकी प्रदेशसभा सदस्य डम्मरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको बताईन् । पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहले असन्तुष्ट सांसदसँग छलफल संवाद गरिने बताएका छन् । यसअघि दलका नेता शाहलाई हटाउन आजै कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

कांग्रेस नेता एवं प्रदेशसभा सदस्य दिवानसिंह विष्टले भने विधानअनुसार दलको नेता हटाउन दर्ता गरिएको अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्ने र गोप्य मतदानबाट निर्णय हुने भएकाले नेता परिवर्तन हुने दाबी गरेका छन्।

उनले भने, “प्रदेशसभा संसदीय दलमा हामी नौ जना बहुमत सदस्यले नेता परिवर्तनका लागि नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छौँ, माननीय डम्मरी महराले आफ्नो निर्णय फिर्ता लिएको जानकारी आए पनि प्रक्रिया रोकिने छैन ।”

प्रदेशसभामा कांग्रेसका १८ सदस्य छन् । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा लामो समयदेखि विदेशमा छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनमा शाह नेतृत्वको सरकार छ । नेताबाट हटाउन विष्टसहित मानबहादुर रावल, गीताकुमारी चौधरी, तुल्सी देवकोटा, जुनाकुमारी दानी, ललिता सुनार, पदमबहादुर शाही, बेलबहादुर रानामगर र डम्मरी महराले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरिएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा एक सदस्य निलम्बनमा छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि डडेल्धुराबाट गत फागुनमा भएको प्रतिनिधि सभा सदस्या निर्वाचनमा रास्वपाबाट चुनाव जितेर संघीय सांसद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij