२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बाराका रास्वपा सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज

बाराका रास्वपा सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो ।

पार्टीले सदस्यता खारेज गरेपछि स्वर्णकारले आफ्नो राजनीतिक हत्या भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत उनले यो षड्यन्त्रको पराकाष्ठा भएको बताएका छन् । उनले भनेका छन्, ‘अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा ! आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो । तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि मलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको छ । अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले मलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा मलाई पार्टीबाटै निष्कासन गरियो। रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन।’

उनले जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले जवाफ दिनेसमेत चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ। मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ। मेरो फैसला आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले गर्नेछन्।न्यायको यो लडाइँमा मलाई साथ दिनुहुने सम्पूर्णमा आभार!

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij