२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सान् फ्रान्सिस्कोमा परेडको तयारी अन्तिम चरणमा

सान् फ्रान्सिस्कोमा परेडको तयारी अन्तिम चरणमा

सान् फ्रान्सिस्को, (क्यालिफोर्निया) । मे महिनाको १० तारिख आइतबार क्यालिफोर्नियाको सान् फ्रान्सिस्को शहरमा हुने नेपाल डे परेडको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको आयोजनामा हुने परेडका लागि सरकारी निकायबाट आवश्यक अनुमती एवं अन्य कामहरु पूरा भएको आयोजकका पदाधिकारीले जनाएका छन् ।

सान् फ्रान्सिस्को सिटी हलबाट सुरु हुने परेड एम्बारकडेरो प्लाजासम्म १ दशमलम ६ माइलको दुरीमा हुनेछ । सान फ्रान्सिस्को सिटीले शहरको केन्द्र भागमा रहेको मार्केट सडकमा परेड अवधिभर सवारी आवागमन बन्द गराएर पैदल यात्राका लागि उपलब्ध गराएको हो । विभिन्न भेषभुषा र झाँकीको प्रदर्शनले सडक नै नेपालमय बनाईने एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष केपी ढकालले बताए ।

स्थानीय संघ संस्थाका पदाधिकारीहरुले सिटीका अधिकारीसँग कार्यक्रमको बिस्तृत स्वरुप जानकारी गराएर आवश्यक बन्दोबस्ती मिलाएका छन् । उनिहरुले परेडको सरुवात हुने सिटी हलदेखि मार्केट स्ट्रीटको अवलोकन तथा मञ्चस्थल एम्बरकाडेरो प्लाजा पुगेर भिडियोमार्फत कार्यक्रमको खाकाबारे जानकारी दिएका छन् ।

एनआरएनले डिसेम्बर २५, २०२५ मा सान् फ्रान्सिस्कोमा परेड गर्ने निर्णय गरेको हो । एनआरएनएको आग्रहपछि मार्च ८ मा सिटी अफ सान् फ्रान्सिस्कोले परेडका लागि अनुमती स्वीकृत गरेको थियो । परेडका लागि नेपाली झण्डा, फ्ल्याएर लगायतका सामाग्रिहरु नेपालबाटै आइपुगेको छ ।
परेडमा व्यक्तिगत रुपमा तथा संघ संस्थाको ब्यानर एवं जातीय पहिचान र भेषभुषामा मानिस आउने तयारी गरिरहेको नेपाल आदीबासी जनजाती महासंघ क्यालिफोर्निया अमेरिकाका महासचिव ज्ञानकाजी लामाले बताए ।

परेडमा नेपालको विविधता झल्कने पहिरन तथा संस्कृतिको प्रदर्शन हुने लामाको भनाई छ । पञ्चकन्या, पञ्चैबाजा, शंख ध्वनी, कुमारी, धिमे, लाखे लगायतको झाँकीसहित बिभिन्न सम्बन्धित संस्थाहरुबाट सहभागी हुन अन्तिम तयारी भइरहेको एनआरएनएका सचिव कैलाश केसीले जानकारी दिए । मञ्चको औपचारिक कार्यक्रममा केही साँस्कृतिक प्रदर्शनी पनि हुने भएको छ । यहाँस्थित स्थानीय युवा युवतीको नाचगानका साथै केही राष्ट्रियस्तरका नेपाली कलाकारको पनि सहभागिता रहने भएको छ ।

परेडमा सान् फ्रान्सिस्कोस्थित अन्य देशका महावाणिज्य दूतावासका कुटनीतिक अधिकारी, बे एरियास्थित सिटीका मेयरहरु, सिटी काउन्सिलर सदस्यको पनि सहभागिता हुने भएको छ । यसका लागि सान् फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूताबासले नै समन्वय गरिरहेको छ ।

एनआरएनको परेड नेपाली महावाणिज्य दूताबास सान् फ्रासिस्को को अभिभावकत्वमा नेपाली कम्युनिटी सेण्टर (नान्स) र नेपाली आदीबासी जनजाती महासंघको सहकार्यमा हुन लागेको हो । यि संस्थाको समन्वयमा बे एरियामा रहेका सम्पुर्ण संघ संस्थाहरु सहभागि हुने एनआरएनएका अध्यक्ष ढकालको भनाई छ ।

कार्यक्रमको तयारीबारे जानकारी दिन शनिवार साँझ नेपाली कम्युनिटी सेण्टरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij