२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेजाको १९औँ साधारणसभा बाल्टिमोरमा भव्यरुपमा सम्पन्न

नेजाको १९औँ साधारणसभा बाल्टिमोरमा भव्यरुपमा सम्पन्न

मेरिल्याण्ड । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा मञ्च नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ साधारण सभा अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोरमा सम्पन्न गरेको छ। नेपाली सञ्चार क्षेत्रका मुद्दा र डायस्पोराको सरोकारलाई केन्द्रमा राखेर आयोजना गरिएको यो सभा दुई दिनसम्म सञ्चालन भई औपचारिक रूपमा समापन गरिएको हो।

बाल्टिमोरस्थित ‘होलिडे इन टाउसन’मा सम्पन्न उद्घाटन तथा समापन समारोहमा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत सरदराज अरन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न अमेरिकी र नेपाली मूलका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो। मेरिल्याण्ड राज्यका सिनेटर कार्ल ज्याक्सनले आप्रवासी समुदाय र अमेरिकी सार्वजनिक संरचनाबीच सेतुको भूमिका खेल्न नेजाले निरन्तर योगदान पुर्‍याउँदै आएको बताए। उनले नेपाली पत्रकारहरूको सक्रियताले समुदायका आवाजलाई मुख्यधारसम्म पुर्‍याउन सहयोग पुगेको धारणा व्यक्त गरे।

त्यस्तै विशेष अतिथि तथा मेरिल्याण्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले ले लोकतन्त्र क्रमशः परिपक्व हुने प्रक्रिया भएको उल्लेख गर्दै संस्थागत मूल्य र प्रणालीप्रतिको सम्मानले मात्र समाजलाई सुदृढ बनाउन सक्ने विचार राखे। आप्रवासी मामिलासम्बन्धी संयोजक रिचर्ड ओर्टेगाले नेजाको भावी यात्राका लागि शुभकामना दिँदै, यस संस्थाले प्रवासी नेपालीहरूको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यक्त गरे।

सभाको बन्दसत्रमा संस्थाको वार्षिक गतिविधि र आर्थिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। साथै, आगामी वर्षका कार्यक्रम, कार्ययोजना र रणनीतिहरू पनि पारित गरिएको जनाइएको छ।

संस्थागत सुदृढीकरणलाई ध्यानमा राख्दै नेजाले आफ्नो विधान संशोधन प्रक्रियालाई पनि अगाडि बढाएको छ। यसलाई संस्थालाई थप पारदर्शी, उत्तरदायी र समयअनुकूल बनाउने प्रयासका रूपमा व्याख्या गरिएको छ।

कार्यक्रममा मेरिल्याण्डका स्थानीय प्रतिनिधिदेखि लिएर गैर आवासीय नेपाली संघ अमेरिका र अन्य नेपाली संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij