सामना देवकोटा, अस्टिन, टेक्सास । अमेरिकास्थित प्रवास नेपाली सम्पर्क विभाग, अमेरिका (प्रवास नेपाली सम्पर्क विभाग, अमेरिका) ले प्रस्तावित ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा समावेश केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै उक्त विधेयक तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ। विभागले उक्त विधेयकले विश्वभर रहेका लाखौं प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको सम्बन्ध, सपना, आकांक्षा र भविष्य योजनामाथि प्रत्यक्ष असर पार्ने जनाएको छ।
विभागले ज्ञापनपत्रमार्फत विदेशमा रहेका नेपालीहरूको “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनात्मक सम्बन्धलाई राज्यले सम्मान गर्नुपर्ने उल्लेख गर्दै वंशजको नागरिकताको निरन्तरता सुनिश्चित हुने कानूनी व्यवस्था गर्न आग्रह गरेको छ। साथै, नेपाल नागरिकता ऐनका विद्यमान व्यवस्थाले विदेशमा रहेका नेपाली मूलका नागरिकहरूको अधिकार र पहिचानमा जटिलता सिर्जना गरेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ।
यसैक्रममा मे ४ मा डल्लासस्थित नेपाली वाणिज्यदूत कार्यालयमा विभागको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको छ। केन्द्रीय सदस्य सागर रोकाय, आशिष मिश्र, केशव थपलिया लगायत टेक्सास च्याप्टरका अध्यक्ष डा. रबिन पाठकको नेतृत्वमा गएको टोलीले सरोकारवालाहरूको सुझाव समेटेर प्रवासी नेपालीहरूको आकांक्षाअनुरूप वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने मैत्रीपूर्ण विधेयक ल्याउन सरकारसँग आग्रह गरेको जनाएको छ।
ज्ञापनपत्रमा विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई गैरआवासीय नेपालीको सीमित परिभाषाभित्र मात्र नराखी उनीहरूको ऐतिहासिक, भावनात्मक र नागरिक अधिकारलाई सम्मान गर्दै व्यवहारिक र न्यायपूर्ण नीति ल्याउनुपर्नेमा जोड दिइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij