अस्टिन, टेक्सास । नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्न ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्स (GANCC) ले अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै भव्य पिकनिक कार्यक्रम आयोजना गर्न लागेको छ।
आयोजकका अनुसार यो कार्यक्रम आगामी मे ३, २०२६ (आइतबार) का दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म हुट्टोस्थित एडम ओर्गेन ब्रुशी क्रीक पार्कमा हुनेछ।
विदेशमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नै संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले पिकनिक आयोजना गरिएको हो। कार्यक्रममा सबैलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको छ भने प्रवेश निःशुल्क राखिएको छ।
कार्यक्रमका अध्यक्ष सीपी पौडेलले पिकनिकमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरूको व्यवस्था गरिएको र यसले सहभागीहरूलाई घरको झल्को दिलाउने विश्वास व्यक्त गरे । त्यस्तै, बालबालिकाहरूका लागि छुट्टै मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएका छन् भने ठूला–बूढा सबैलाई लक्षित गर्दै नाचगान, सांस्कृतिक प्रस्तुति र खेलकुद गतिविधिहरू पनि हुनेछन्।
आयोजक संस्थाका अध्यक्षका अनुसार कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उनले अस्टिन तथा आसपासका सम्पूर्ण नेपाली समुदायलाई यस कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई एकसाथ हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् ।
यस कार्यक्रमले नेपाली समुदायबीच आपसी सम्बन्ध अझ बलियो बनाउने र सांस्कृतिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij