अस्टिन, टेक्सस । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ मा दुई दिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
नेजाका अध्यक्ष सुरज भण्डारीका अनुसार, स्थापना दिवसको अवसरमा अप्रिल १८ मा बृहत् संवाद कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा नेपाली दूतावास तथा महावाणिज्य दूतावासका प्रतिनिधि, अमेरिकामा सक्रिय नेपाली पत्रकारहरू, विभिन्न मिडिया प्रतिनिधि, सिटी तथा राज्य तहका जनप्रतिनिधि र नेपाली समुदायका अगुवाहरूको सहभागिता रहनेछ। कार्यक्रममा उत्तर अमेरिकामा नेपाली पत्रकारिताको अवस्था, अवसर र चुनौतीका साथै सामुदायिक पत्रकारिताको भूमिकाबारे छलफल गरिनेछ।
त्यसैगरी, अप्रिल १९ मा युलेसस्थित नेपाली मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने दिउँसो “नेपालमा लगानीका सम्भावना” विषयक अन्तरक्रिया कार्यक्रम हुने छ। उक्त कार्यक्रम नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा आयोजना गरिनेछ, जसमा टेक्ससका विभिन्न क्षेत्रमा संलग्न व्यवसायीहरूको सहभागिता रहनेछ। नेजाले यस कार्यक्रममार्फत नेपाली पत्रकारिता सुदृढ गर्नुका साथै नेपाली व्यवसायीहरूलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ।