वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबीच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि आह्वान गरेको छ ।
इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।
रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन । अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत दुई दिनमा दुवै पक्षबीच शत्रुताको पूर्णसमाधानका लागि निकै राम्रो र फलदायी कुराकानी भएको छ ।’
राष्ट्रपति ट्रम्पले पहिले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चेतावनी जारी गर्दै अन्यथा इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए तर सोमबार पाँच दिनका लागि आक्रमण रोक्न आदेश दिएको बताए ।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको बमबारीका कारण युद्ध सुरु भएदेखि नै जलमार्ग बन्द गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij