काठमाडौँ । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’को स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका छन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ ।

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।
विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।
विभागको औपचारिक उद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।

उनले भने, ‘यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरुलाई उहाँहरुको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरुको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए ।
उनले यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरुसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए ।
विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij