काठमाडौं । चुनावी प्रचार प्रसार अन्तिम चरणमा पुग्नै लाग्दा धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले प्रभाव बढाएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको भएपनि यसपटक बहुपक्षीय प्रतिस्पर्धा हुँदा कांग्रेसको सम्भावना बढी देखिएको हो । अर्कोतर्फ धनकुटाको राजनीतिक विरासतसँग जोडिएको थापा परिवार नै कांग्रेस जिताउन सक्रिय भएर लागेका कारण प्रभाव बढ्दो छ ।
सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र नाति सिद्धार्थ थापा अहिले कांग्रेसको सक्रिय राजनीतिमा छन् । सुनील त हालै कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित समेत भए । धनकुटामा जारी चुनावी प्रतिस्पर्धा थापा परिवार र कांग्रेसका लागि प्रतिष्ठाकै विषय बनेको छ ।
धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राईसँगै एमालेका राजेन्द्र कुमार राई , नेकपाका धर्मराज पौडेल , श्रम संस्कृति पार्टीका सानबहादुर राई, राप्रपाका विभत्सु थापा, रास्वपाका दिनेश भण्डारी लगायत प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा मुख्यतः कांग्रेस, एमाले,नेकपा, रास्वपा र श्रम संस्कृति पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
विगतमा राप्रपाको राम्रो प्रभाव रहेको धनकुटामा थापा परिवार कांग्रेसमा प्रवेश गरेसँगै राप्रपा निकै कमजोर भएको छ । यद्यपि राप्रपा उम्मेदवार विभत्सु थापाले आफूलाई सूर्यबहादुरको पनाति भनेर मत मागिरहेका छन् । जबकी उनी सूर्यबहादुरका पनाति होइनन् । ‘सूर्यबहादुरको छोरा सुनील,सुनीलको छोरा सिद्धार्थ हो । सिद्धार्थको छोरा नाबालक छन् । राप्रपा उम्मेदवारले गलत प्रचार गरिरहेका छन्’, राप्रपाको प्रचारबारे कांग्रेसका स्थानीय नेताले भने ।

राष्ट्रिय रुपमै चुनावमा नेकपा एमालेको मनोबल गिरेको देखिन्छ । अध्यक्ष केपी शर्मा ओली नै रक्षात्मक बनेको अवस्थामा एमालेले पुरानै उम्मेदवार उठाएको छ । यस्तो अवस्थामा रास्वपा र श्रमसंस्कृति पार्टीले एमालेकै मत बढी काट्ने देखिन्छ । आफ्नो मत जोगाउँदा यसपटक धनकुटामा कांग्रेसले इतिहास रच्न सक्छ ।
‘धनकुटा कांग्रेसले कहिल्यै जितेन भन्ने छ । यसपटक एमालेसँग प्रतिस्पर्धा भएपनि कांग्रेसको उम्मेदवार र एजेण्डाका कारण जित्ने सम्भावना धेरै छ’, कांग्रेस नेताको दावी छ । विगतमा माओवादीमा राम्रो प्रभाव देखाएका हेमराज भण्डारीले श्रम संस्कृतिलाई समर्थन गरेका कारण नेकपाको मत कमजोर हुने देखिन्छ । कुनैबेला एमालेमा प्रभाव राख्ने धर्म पौडेल अहिले नेकपाको उम्मेदवार भएका कारण पनि एमाले समस्यामा छ । यी सबै राजनीतिक समीकरणहरुको लाभ लिएर धनकुटामा जित निकाल्ने कांग्रेसको तयारी छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij