काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलबार झापामा चुनावी अभियानका क्रममा सभापति लामिछानेले निवर्तमान सभामुख घिमिरेप्रति आक्रोश पोखेका थिए । उनले संसदमा जनताको आवाज बोल्द माइक काटेको भन्दै आक्रोश पोखेका थिए ।
उनले भनेका थिए, ‘मैले यहाँ एउटै कुरा भन्नेपर्छ, मलाई थाहा छैन पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ थाहा छैन । हामीले संसदमा भिजिट भिसामा लाखौँ रुपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऔँ, समिति बनाऔँ भन्यौँ, हामीले जनताको आवाज बोल्यौँ तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख त्यो माइक काटिदिनुभयो ।’
त्यसपछि विज्ञप्ति जारी गरी निवर्तमान सभामुख घिमिरेले लामिछानेले घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाएको भन्दै त्यो चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ– मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ । रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु– “आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?“ तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपील गर्दछु ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij