२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

महिला मत र नेपालमा लोकतन्त्रको भविष्य

महिला मत र नेपालमा लोकतन्त्रको भविष्य

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली राजनीतिमा दबिएको असन्तोषलाई सतहमा ल्यायो । सामाजिक सञ्जाल नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप र पुरानो सत्ता अभ्यासविरुद्ध उठेको त्यो आवाज मूलतः नयाँ पुस्ताको अस्वीकारोक्ति थियो । आन्दोलनले व्यक्ति होइन, प्रवृत्तिमाथि प्रश्न उठायो । यही दबाबको परिणामस्वरूप नेपालले पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशिला कार्कीलाई पायो । यो परिवर्तन आकस्मिक थिएन, यो समय र परिस्थितिले मागेको परिणाम थियो ।

महिला प्रधानमन्त्रीको उदयलाई केवल ऐतिहासिक उपलब्धिका रूपमा सीमित गर्नु कमजोर विश्लेषण हुन्छ । यो घटना नेपाली राजनीतिमा एउटा स्पष्ट सन्देश हो—पुरानो शैली अब जस्ताको तस्तै चल्न सक्दैन । महिलालाई लामो समयसम्म समावेशी प्रतिनिधित्वको सीमामा राखिएको थियो । अधिकार कागजमा थिए, तर निर्णायक तहमा पहुँच सीमित थियो । अहिले देखिएको महिला नेतृत्व त्यही अधुरो यात्राको परिपक्व मोड हो ।

अन्तर्राष्ट्रिय महिला आन्दोलनको इतिहासले देखाएको छ—महिला नेतृत्व कमजोरी होइन, विकल्प हो । धेरै देशमा महिलाले नेतृत्व गर्दा संकट व्यवस्थापन, संवाद र समावेशी नीतिमा सकारात्मक प्रभाव परेको छ । नेपाल अहिले यही परीक्षणको चरणमा छ । सुशिला कार्की नेतृत्वको सरकारको मुख्य जिम्मेवारी सत्ता जोगाउनु होइन, राजनीतिक संक्रमणलाई निष्पक्ष निर्वाचनमार्फत टुंग्याउनु हो । यही बिन्दुमा लोकतन्त्रको विश्वसनीयता निर्भर छ । मुलुकलाई राजनीतिक संक्रमणबाट पार लगाउन महिला नेतृत्व सफल भएको उदाहरण निर्वाचनको सफलतासँगै स्थापित पनि हुँदैछ ।

अब प्रश्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ सोझिन्छ । यो निर्वाचन सामान्य सत्ता हस्तान्तरणको प्रक्रिया होइन, जेनजी आन्दोलनपछि जन्मिएको जनचेतनाको वास्तविक परीक्षा हो । यस परीक्षाको केन्द्रमा महिला मतदाता छन् । महिलाको संख्या मतदातामा ठूलो छ, तर त्यो शक्ति अहिलेसम्म निर्णायक रूपमा प्रयोग हुन सकेको छैन । अब त्यो कमजोरी दोहोर्याउने छुट छैन ।

महिला मतदाताले यसपटक दल, चिन्ह वा भावनाभन्दा माथि उठेर निर्णय गर्नुपर्ने अवस्था आएको छ । उम्मेदवार र दलले महिलाका अधिकार, सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी र सम्मानजनक जीवनबारे के दृष्टिकोण राख्छन् भन्ने प्रश्न निर्णायक हुनुपर्छ । महिलालाई चुनावका बेला मात्र सम्झिने, नारामा सीमित गर्ने राजनीतिक संस्कृतिलाई स्वीकारिरहनु अब बहाना बन्न सक्दैन ।

अन्तर्राष्ट्रिय महिला आन्दोलनको सन्देश स्पष्ट छ—महिला परिवर्तनको प्रतीक होइनन्, परिवर्तनका निर्णायक पात्र हुन् । जेनजी आन्दोलनले सडकमा उठाएको चेतना यदि मतपेटिकासम्म पुग्न सकेन भने त्यो अधुरो हुनेछ । महिला नेतृत्वको सरकार बनेको अहिलेको सन्दर्भमा महिला मतदाताको विवेकपूर्ण निर्णयले मात्र लोकतन्त्रलाई सही दिशामा धकेल्न सक्छ । यस अर्थमा, यस पटकको निर्वाचन उत्सवभन्दा बढी उत्तरदायित्वको स्मरण हो ।

अधिकार प्राप्तिको इतिहास सम्झँदै, वर्तमान राजनीतिक अवसरलाई निर्णयमा रूपान्तरण गर्ने कि फेरि चुप लागेर बस्ने—यो छनोट महिलाकै हातमा छ । नेपाल आज त्यही मोडमा उभिएको छ, जहाँ महिलाको एउटा सचेत मतले लोकतन्त्रलाई बलियो बनाउने वा पुरानै चक्रमा फर्काइदिने निर्णय गर्न सक्छ ।

 

(लेखक समाजप्रेसकी ग्लोबल इडिटर एवं नेजाकी कोषाध्यक्ष हुन् । )

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij