२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

छोरीले कहिले नडराई बाँच्न पाउने हो ?

छोरीले कहिले नडराई बाँच्न पाउने हो ?

हालै भइरहेका घटनाहरूले फेरि सोच्न बाध्य बनाएको छ। समाजमा बढ्दो असुरक्षा, न्यायको अभाव र सोचको समस्या बीच छोरीहरूको अवस्था अझै चिन्ताजनक छ । नेपालमा निर्मला पन्त, इनिशा बिक जस्ता घटनाहरूले छोरी मान्छेहरूको सुरक्षाको अवस्था र न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाएका छन्।

यी घटनाहरू केवल केही प्रतिनिधि उदाहरण मात्र हुन् ।  वास्तवमा समाजमा धेरै यस्ता घटनाहरू छन् जहाँ पीडितको आवाज उठ्नै पाउँदैन, उठे पनि दबाइन्छ, र न्याय खोज्दा झन् अपमानित हुने अवस्था देखिन्छ। कतिपय अवस्थामा शक्ति, पैसा र पहुँचले सत्यलाई नै कमजोर बनाइदिन्छ, दोषीलाई जोगाइन्छ, र निर्दोष व्यक्तिहरू समेत समस्यामा पर्ने स्थिति सिर्जना हुन्छ।

छोरी बिना न सृष्टि चल्छ, न घर चल्छ भन्ने कुरा सर्वविदित छ। तर व्यवहारमा छोरीहरू अझै पनि डरको वातावरणमा बाँच्न बाध्य छन्। सानैदेखि “सावधान रहनु” भन्ने शिक्षा दिइन्छ, तर उनीहरूको स्वतन्त्रता अझै सीमाभित्र मात्र स्वीकारिएको देखिन्छ।

समाजमा देखिएको अर्को चिन्ताजनक पक्ष के हो भने, छोरीहरू बाहिरी व्यक्तिबाट मात्र होइन, कहिलेकाहीँ आफ्नै परिवारभित्रका सम्बन्धहरूबाट समेत असुरक्षित महसुस गर्छन्। बाबा, दाइ, भाइ, काका, बाजे जस्ता सम्बन्धहरू सुरक्षाको प्रतीक हुनुपर्ने हो, तर विभिन्न घटनाहरूले यी सम्बन्धहरूमा समेत विश्वास कमजोर हुने अवस्था देखिएको छ।

हिमालदेखि पहाड र तराईसम्म हेर्दा, छोरी मान्छे पूर्ण रूपमा सुरक्षित रहेको अवस्था अझै सुनिश्चित देखिँदैन। धेरै घटनाहरूमा समाजको डर, परिवारको इज्जत र सामाजिक दबाबका कारण पीडितहरूले आफ्ना कुरा खुलाउन सकिरहेका छैनन्। यसले गर्दा धेरै पीडा लुकेरै बस्ने र न्यायको पहुँचबाट टाढा रहने अवस्था सिर्जना हुन्छ।

नयाँ सरकार, नयाँ नियम र नयाँ कानुनप्रति आशा अझै कायम छ। यसले भविष्यमा सकारात्मक परिवर्तन ल्याउने र पीडितहरूले न्याय पाउने विश्वास गरिएको छ। यस्ता सुधारहरूले पीडितहरूको जीवनमा केही राहत ल्याउने अपेक्षा गर्न सकिन्छ। तर केवल कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन। समाजको सोचमा परिवर्तन आवश्यक छ। शक्ति वा पैसाको आधारमा कसैको सम्मान र शरीरमाथि अधिकार जमाउने सोचको अन्त्य हुनुपर्छ।

सबैका लागि समान न्याय, बिना डर र बिना दबाब सुनिश्चित हुनु आवश्यक छ। हिमाल, पहाड र तराई सबै एउटै समाजका अंग हुन्। र जबसम्म एउटा छोरी पनि सुरक्षित छैन, तबसम्म समाज पूर्ण रूपमा सुरक्षित भएको मान्न सकिँदैन। अन्त्यमा प्रश्न यथावत् रहन्छ, छोरीले कहिले नडराई बाँच्न पाउने हो ?

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij