उनीसँग ईच्छाशक्ति छ । क्षमता छ र जाँगर छ । संसारको सबैभन्दा शक्तिशाली भनिने देश अमेरिकामा उनका लागि पर्याप्त अवसर थियो । वैभव वा व्यक्तिगत सुखलाई प्राथमिकता दिएको भए अमेरिकामा उनका लागि सबैथोक थियो । तर आफ्नो पुख्र्याैली थलोको माया । पिताजीको लामो संघर्ष र योगदानको पृष्ठभूमि । साथीहरुको प्रश्न अनि उत्तर खोज्ने हुटहुटीले उनलाई अन्ततः अमेरिकामा अड्याउन सकेन । उनी अमेरिकाको सिटिजनशिप त्यागेर केही समयअघि नेपाल फर्किए । आफ्नो गृहजिल्लामा सामाजिक सेवाका काममा क्रियाशील भए । यतिबेला प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी उम्मेदवार बनेका छन् । उनी अर्थात्, भूपेन बहादुर चन्द ।
भूपेनको व्यक्तित्व बहुआयामिक छ । उनी पूर्व प्रधानमन्त्री एवं साहित्यका लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा हुन् । राजनीतिक विरासत बोकेको परिवारको सदस्य हुनुका अलावा उनको आफ्नै पहिचान छ । कुनैसमय नेपाली सानो पर्दा र चलचित्र क्षेत्रमा भूपेन चन्द प्रख्यात थिए । दुई किनारा चलचित्रबाट टेब्यु गरेका भूपेनले छोटो समयमै नेपाली कला क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भए । अध्ययन र अवसरकै खोजीमा अमेरिका गए । अमेरिकामा पनि सहुलीयत नभएर संघर्ष उनको साथी बन्यो । समय क्रममा अमेरिकामा भूपेन जमिसकेका थिए । कहिलेकाहीँ साथीहरु प्रश्न गर्थे, तिमी यहाँ के गर्दैछौ ? पिताजीले बैतडीको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीकै रुपमा योगदान गरेको पृष्ठभूमि केलाउँदै साथीहरु भन्थे , भूपेन त नेपालमै हुनुपर्थ्यो । जनतासँग हुनुपर्थ्यो । साथीहरुको यिनै भनाई, पिताजीको विरासत अनि बैतडीको मायाले उनलाई अमेरिकामा अड्याउन सकेन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन उम्मेदवार बनेका छन् । यतिबेला बैतडीका गाउँ बस्तीमा मतदाता भेट्दै मत मागिरहेका छन् । लोकतान्त्रिक अभ्यासलाई शिरोपर गरेका भूपेन आफ्नो उम्मेदवारी बैतडीका जनतालाई सहयोग गर्न भएको बताउँछन् । बैतडी अझै काठमाडौंभन्दा ५० वर्ष पछाडि परेको भन्दै उनी बैतडीबासीलाई विकाससँग जोड्न धेरै काम गर्नुपर्ने बताउँछन् । विगतमा राप्रपाको राम्रो प्रभाव रहेको बैतडीबाट लोकेन्द्रबहादुर चन्द ४ पटक मुलुकको प्रधानमन्त्री भए । लोकेन्द्र अहिले राजनीतिमा सक्रिय नहुँदा बैतडीको प्राथामितालाई ओझेलमा पारिएको भूपेनको भनाई थियो । ‘बैतडीलाई मूलधारको सरोकार बनाउने हो । स्वास्थ्य र शिक्षामा निकै कमजोर अवस्था छ । त्यसलाई सुधार्ने मेरो प्रतिवद्धता छ’, भुपेन भन्छन् ।
बैतडी सोझा जनताको जिल्ला रहेको भन्दै बैतडीबासीमाथि राजनीतिक दलहरुले पटक पटक राजनीति गरेको उनको आरोप छ । क्षणिक स्वार्थ देखाएर भोट लिने तर बैतडीको वास्तविक समस्या समाधान गर्न ध्यान नदिने राजनीतिक नेतृत्वसँग बैतडीबासी आजित भएको उनले बताए । आफूले दीर्घकालीन रुपमा बैतडीको विकास र बैतडीबासीको स्वाभिमान बढाउने योजना अघि सारेको भुपेनको भनाई छ ।
कञ्चनपुरमा राप्रपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाबीच मुख्य प्रतिस्पर्धा छ । कांग्रेसबाट क्रिकेट संघका अध्यक्ष चतुर चन्द, एमालेबाट पूर्व मन्त्री दामोदर भण्डारी, नेकपाबाट प्रमानन्द भट्ट र रास्वपाबाट हरिमोहन भण्डारी प्रतिस्पर्धामा छन् । अघिल्लो पटक एमालेले जितेको यसक्षेत्रमा यसपटक पुरानो साख फर्काएर चुनाव जित्ने राप्रपाको रणनीति छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij