२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेजाद्वारा डालस महावाणिज्य दूतावाससँग विशेष अन्तरक्रिया कार्यक्रम

नेजाद्वारा डालस महावाणिज्य दूतावाससँग विशेष अन्तरक्रिया कार्यक्रम

डालस, टेक्सास ।

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले टेक्ससको डालसमा हालै स्थापना भएको नेपाली महावाणिज्य दूतावासका पदाधिकारी र स्थानीय पत्रकारहरूबीच विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। सोमबार साँझ टेक्ससको फोर्टवर्थमा सम्पन्न कार्यक्रममा दूतावासको हालसम्मको कार्यप्रगति, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले डालसमा महावाणिज्य दूतावास स्थापना हुनु टेक्सस तथा आसपासका राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि ठूलो राहतको विषय भएको धारणा राखे। यसअघि सामान्य प्रशासनिक कामका लागि समेत वासिङ्टन डिसी पुग्नुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले खुशी व्यक्त गरेका थिए।

महावाणिज्य दूतावासका अनुसार गत अक्टोबर १० देखि सेवा सुरु भएयता हालसम्म १ हजार २ सय ६० जनाले विभिन्न सेवा लिइसकेका छन्। वाणिज्यदूत तथा प्रवक्ता प्रविण भट्टराईले यस अवधिमा ६९२ वटा राहदानी जारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकृत वारिसनामा, यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट), मञ्जुरीनामा लगायतका सेवाहरू पनि नियमित रूपमा उपलब्ध गराइँदै आएको छ।

प्रवक्ता भट्टराईले आगामी सातादेखि गैरआवासीय नेपाली (एनआरएन) कार्डको सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै भिसा सेवा भने सुरु भइसकेको स्पष्ट पार्नुभयो। अन्तरक्रियाका क्रममा पत्रकारहरूले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझावहरू समेत प्रस्तुत गरेका थिए।

पत्रकारहरूले विशेषगरी सामाजिक सञ्जालमार्फत नियमित सूचना प्रवाह गर्न, विद्यार्थीहरूका लागि छुट्टै हटलाइनको व्यवस्था गर्न तथा अस्टिन र ह्युस्टनजस्ता टाढाका सहरहरूमा घुम्ती शिविर सञ्चालन गर्न सुझाव दिएका थिए। साथै, अमेरिकामा रहेका नेपाली कलाकारहरूले भोग्दै आएको भिसा समस्या र डिपोर्टेसनका विषयमा पनि दूतावासको ध्यानाकर्षण गराइएको थियो।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै महावाणिज्यदूत सुरेश अधिकारीले सीमित स्रोत र साधनका बाबजुद नेपाली समुदायलाई प्रभावकारी सेवा दिन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कार्यालयमा सेवा लिन आउने कसैलाई पनि रित्तो हात फर्कन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कतिपय नीतिगत तथा राजनीतिक विषयहरू वासिङ्टन डिसीस्थित दूतावासमार्फत समाधान हुनुपर्ने भए पनि स्थानीय तहमा उपलब्ध सेवामा ढिलासुस्ती नहुने उहाँले स्पष्ट पार्नुभयो।

वाणिज्यदूत तथा प्रवक्ता प्रविण भट्टराईले सूचना प्रवाहलाई व्यवस्थित बनाउन नेजासँग आबद्ध पत्रकारहरूसँग सहकार्य गर्दै दूतावासका गतिविधि र सूचनाहरू सिधै मिडियासम्म पुर्‍याउने संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीले डालसमा महावाणिज्य दूतावास स्थापना हुनु नेपाली समुदायको लामो संघर्षको सकारात्मक उपलब्धि भएको बताउनुभयो। उहाँले प्रवासमा रहेका पत्रकारहरूले आफ्नो अनुभव र ज्ञान प्रयोग गरी नेपालको लोकतन्त्र सुदृढ बनाउन र देशमा व्याप्त निराशा चिर्न योगदान दिनुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियामा नेजामा आबद्ध पत्रकारहरूका साथै वरिष्ठ पत्रकार भिमसेन राजबहाक, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुनिल खड्का, वरिष्ठ साहित्यकार आर.सी. रिजाल तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका प्रवक्ता सन्देश उप्रेतीलगायतले महावाणिज्य दूतावासका सेवाहरू अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।

नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता र क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेजाका सचिव शंकर थापाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा नेजाकी कोषाध्यक्ष झरना अधिकारी, कार्यकारी सदस्य डिबी राउत, सदस्य नारायण भण्डारीसहित डालसका स्थानीय पत्रकार, सञ्चारकर्मी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij