टेक्सस । नेपाल सरकारका पूर्व मुख्यसचिव विमल कोइराला नेपालको प्रशासनिक क्षेत्रमा चिनिएको नाम हो । शाखा अधिकृतदेखि मुख्यसचिवसम्म भएर प्रशासनिक क्षेत्रलाई नेतृत्व प्रदान गर्नुभएका कोइराला बेदाग र स्पष्टवक्ताका रुपमा चिनिनुहुन्छ । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको तत्तालीन सरकारलाई २०५९ सालमा बर्खास्त गर्दा कोइराला मुख्यसचिव हुनुहुन्थयो । प्रधानमन्त्रीका रुपमा देउवा, सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा काम गर्नुभएका कोइराला २०६१ माघ १९ पश्चात तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन चलाउँदा पनि मुख्य सचिव रहनुभयो । २०६२ साल ७ असोजमा सेवा निवृत्त हुनुभएका कोइराला साहित्य सिर्जनामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
हाल अमेरिका भ्रमणमा रहनुभएका कोइरालासँग अस्टिनमा रहेका नेपालीहरुले मुलुकको प्रशासन, राजनीति र समसामयिक विषयमा संवाद गरेका छन् । जहाँ कोइरालाले आफ्ना धारणाहरु खुलेर प्रस्तुत गर्नुभयो । उहाँले नेपालका राजनीतिज्ञहरुमा देश विकासका लागि हुनुपर्ने ठोस खाका नै नभएको दावी गर्नुभयो । आफ्नो सेवाअवधिमा आफूले कुनैपनि राजनीतिज्ञले देश विकासको विषयमा केन्द्रीत रहेर ठोस छलफल गरेको थाहा नपाएको कोइरालाको भनाई छ । ‘राजनीतिक नेतृत्व नियमित काम गर्ने बाहेक देश विकासका लागि नयाँ र ठोस योजनाका बारेमा छलफल समेत गर्दैन । नयाँ कुरामा आफूलाई अभ्यस्त राख्दैन । नेताहरुमा राजनीति गर्नेमात्रै योजना छ, देश बनाउने योजना छैन’, उनले भने ।
अस्टिनको सेडरपार्कस्थित याक एण्ड यति रेष्टुरेण्टमा आयोजित अन्तरक्रियामा पूर्व मुख्यसचिव कोइरालाले राजनीतिक नेतृत्व उत्तरदायी भए मात्रै देशविकास हुने बताउनुभयो । मुलुकले नयाँ रुपान्तपरण खोजेको भन्दै उहाँले पुराना र असफल नेताहरुले विश्राम लिनु नै देशको हितमा हुने उल्लेख गर्नुभयो ।
सहभागिहरुको विभिन्न जिज्ञासा समाधान गर्दै उहाँले सुशासनप्रति राजनीतिक नेतृत्व प्रतिवद्ध भए अरु कसैले भ्रष्टाचार गर्ने हिम्मतसमेत नगर्ने बताउनुभयो । ‘राजनीतिक दलहरु शक्ति आर्जन गर्ने र सबै क्षेत्रमा आफ्ना मान्छे उभ्याउने प्रयासमा मात्रै केन्द्रीत छन् । जनतामाझ जे पनि वाचा गर्ने तर पूरा नगर्ने गरेकै कारण दलप्रति नागरिक विश्वास घट्दै गएको हो’, कोइरालाले भन्नुभयो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij