२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

पौडेल, रेग्मी र खनाललाई एनआरएनए अमेरिकाले दियो महत्वपूर्ण जिम्मेवारी

पौडेल, रेग्मी र खनाललाई एनआरएनए अमेरिकाले दियो महत्वपूर्ण जिम्मेवारी

टेक्सस । अस्टिनमा रहेको नेपाली समुदायबीच परिचित व्यक्तित्वहरु सिपी पौडेल , महेश रेग्मी र उद्धव खनाललाई गैरआवासी नेपाली संघ अमेरिकाले महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शका अध्यक्ष सिपी पौडेल र वरिष्ठ उपाध्यक्ष महेश रेग्मीलाई गैरआवासीय नेपाली संघ अमेरिकाले संरक्षकमा मनोनीत गरेको छ । त्यस्तै ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शका महासचिव उद्धव खनाललाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

संरक्षकको जिम्मेवार पाएका सिपी पौडेल लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा जोडिएका छन् । सिन्धुली मूल घर भई टेक्ससमा रहदै आएका पौडेल २०१४ देखि एनआरएनए अमेरिकामा आबद्ध छन् । उनले सन् २०२३–२५ मा एनआरएनए अमेरिकालाई नेतृत्व समेत गरेका थिए । विभिन्न सामाजिक संघ संस्था र अभियानमा क्रियाशील पौडेललाई एनआरएनए अमेरिकाको कार्यसमिति बैठकले साधारणसभाको म्याण्डेटका आधारमा संरक्षकमा मनोनीत गरेको हो ।

त्यस्तै संरक्षकको जिम्मेवारी पाउने महेश रेग्मी ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शको हाल वरिष्ठ उपाध्यक्ष छन् । लामो समयदेखि सामाजिक काममा सक्रिय रेग्मी नेपाली समाज टेक्ससको सल्लाहकार रहिसकेका छन् । सन् २०१० मा एभरेष्ट नेपाल ग्रुप अफ अस्टिनको नेतृत्वमा रहेयता रेग्मीले धेरै संघ संस्थामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । सन् २०२३–२५ मा एनआरएनएको आइसीसी मेम्बर रहेका महेशको घर नवलपरासी हो ।

एनआरएनए अमेरिकाको सल्लाहकारमा मनोनीत काभ्रेका उद्धव खनाल पनि लामो समयदेखि अमेरिकाको टेक्ससमा रहँदै आएका छन् । ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शको महासचिव रहेका खनाल हाल नेपाल सरकारको तर्फबाट टेक्ससका लागि पर्यटन सद्भावना दूतसमेत हुन् ।

ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शकी सचिव झरना अधिकारीले गैरआवासीय नेपाली संघ अमेरिकाले अस्टिनका अगुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएकोमा धन्यवाद ज्ञापन गरिन् । ‘ ग्रेटर अस्टिन नेप्लीज चेम्बर अफ कमर्शको अध्यक्ष सिपी पौडेल, वरिष्ठ उपाध्यक्ष महेश रेग्मी र महासचिव उद्धव खनाललाई दिइएको सम्मानजनक जिम्मेवारीका लागि हामी आभारी छौं’, अधिकारीले भनिन् । उनले संरक्षक एवं सल्लाहकारमा मनोनीत सबैलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij