२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

पोखरा २४ का वडाध्यक्षलाई साढे ४ महिना कैद र ७५ हजार जरिवानाको फैसला

पोखरा २४ का वडाध्यक्षलाई साढे ४ महिना कैद र ७५ हजार जरिवानाको फैसला

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा अधिकारीलाई बिहीबार अदालतले यस्तो सजाय सुनाएको हो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई जरिवाना र कैद सजायको आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछूत र भेद्भावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र रु ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ।

सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताए।

पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारीविरुद्ध जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकी थिइन्। यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गरेकी थिइन्।

नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा रु एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij