२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्रीलाई पत्र : तपाईको नेतृत्वमा नेपाल भ्रष्टाचारमुक्त होस्

प्रधानमन्त्रीलाई पत्र : तपाईको नेतृत्वमा नेपाल भ्रष्टाचारमुक्त होस्

प्रधानमन्त्रीज्यू नमस्कार,

आज नेपालको भविष्य तपाईंको काँधमा आएको छ। राष्ट्र निराश छ, जनता पीडामा छन्, तर अझै पनि आशा बाँकी छ। म हजुरलाई केवल “प्रधानमन्त्री” होइन, “आमा” भनी सम्बोधन गर्छु, किनभने पदले भन्दा ममताले राष्ट्रलाई जोड्छ।

देश आज उत्सवमा छैन। धेरैले यही मातृभूमिका लागि आफ्नै जीवन अर्पण गरिसकेका छन्। सयौं घाइते भएका छन्। उनीहरूको रगत तपाईंको काँधमा जिम्मेवारीको भारी बनेर आएको छ। यो भारी केवल तपाईंको लागि मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि गौरव र पीडाको मिश्रण हो।

घरमा संकट आउँदा जस्तै, तपाईंले आज राष्ट्रलाई सम्भाल्नुपर्नेछ। जसरी आमा बच्चाको आँसु पुछ्छिन्, त्यस्तै तपाईंले आज आम जनताको पीडा बुझ्नुपर्नेछ। तपाईंको निर्णयले ती घाइते युवाहरूको भविष्य निर्धारण गर्नेछ।

तपाईंको आवाजले ती सहिद परिवारहरूको आँसु पुछ्नेछ। तपाईंको करुणाले निराश नागरिकहरूलाई आशाको ज्योति दिनेछ। हाम्रो अपेक्षा छ— तपाईंको नेतृत्वमा नेपाल भ्रष्ट्राचारमुक्त बन्नेछ, न्याय प्रत्येक घरमा पुग्नेछ, र नयाँ पुस्ताले फेरि भविष्यमा विश्वास गर्नेछ।भविष्यमा हामी आफ्ना छोराछोरीलाई भन्न सकौं— “त्यो बेला नेपाल पीडामा थियो, सडकमा हाम्रो जेन जी को रगत बगेको थियो, सहिद र घाइतेहरूको बलिदानले देशलाई जागृत बनाएको थियो। तर एउटी आमाले नेतृत्व गरेर राष्ट्रलाई फेरि उठाइन्।” त्यो क्षण नेपालीले गौरव गर्नेछन् , आमाको विजय हुनेछ, र नेपाल आमाको वास्तविक पुनर्जन्म हुनेछ।

अनि नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नाम सधैंका लागि लेखिनेछ— जुन इतिहास पल्टाएर हेर्दा हरेक पुस्ताले गर्व गर्नेछन् र प्रेरणा लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij