अष्टिन, टेक्सास – अमेरिकाको टेक्सास राज्यस्थित अष्टिन शहरमा पहिलो पटक अष्टिन नेवा पुचः को आयोजनामा इन्द्र जात्रा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा अष्टिनका धेरै नेपालीहरू नेवारी भेषभूषा तथा अन्य सांस्कृतिक पोशाकमा सहभागी बने, जसले सांस्कृतिक विविधता र मौलिक सौन्दर्यलाई झल्काएको थियो। उपस्थितहरूले मौलिक बाजागाजासहित पूजा–पाठ, नाचगान, र सांगीतिक प्रस्तुति मार्फत इन्द्र जात्राको ऐतिहासिक र सांस्कृतिक महत्व प्रस्तुत गरे। साथै, सहभागीहरूका लागि विभिन्न परम्परागत परिकारहरू पनि तयारी गरिएको थियो, जसले आफ्नै मातृभूमिको स्वाद र सम्झना दिलाएको सहभागीले बताएका छन्।

काठमाडौं उपत्यकामा मनाइने सबैभन्दा पुरानो पर्वहरूमध्ये इन्द्र जात्राको विशेष स्थान छ। इतिहासकारहरूका अनुसार यो पर्व लिच्छवी कालदेखि सुरु भएको हो। धार्मिक विश्वासअनुसार, देवराज इन्द्र आकाशबाट पृथ्वीमा झरेपछि उनलाई बाँधिएको र पछि मुक्त गरिएको घटनासँग यो पर्व जोडिन्छ। त्यसयता काठमाडौं उपत्यकामा यो पर्व निरन्तर मनाउँदै आइएको छ, जसमा रथयात्रा, देवपूजा, नाचगान, र सामुदायिक उत्सव प्रमुख अङ्गका रूपमा रहँदै आएका छन्।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले आफ्ना मौलिक परम्परा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले पहिलो पटक अष्टिनमा इन्द्र जात्राको आयोजना गरेका हुन्। आयोजकका अनुसार यस पर्वमार्फत नयाँ पुस्तालाई आफ्नो ऐतिहासिक र सांस्कृतिक सम्पदासँग जोड्ने लक्ष्य राखिएको छ। यस अवसरका सुन्दर तस्वीरहरू रबिन प्रिया ले उपलब्ध गराउनुभयो, जसले कार्यक्रममा थप स्मरणीयता थपेको छ।
— तस्बिर : रविन पिया ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij