काठमाडौं । नेपालीमा सरकारी वा गुठीको जग्गालाई अवैधरुपमा नीजिकरण गरिएका घटनाहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् । सार्वजनिक गुठीका जग्गापनि व्यवासायिक स्वार्थका कारण व्यक्तिले हडप्ने र नामसारी नै गरिलिएका प्रशस्त उदाहरण रहेका छन् । काठमाडौं उपत्यकामा समेत विभिन्न गुठीका नाममा रहेका जग्गाहरु अवैध रुपमा व्यक्ति वा कम्पनीको नाममा ल्याई अपचलन गरिएको देखिन्छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण होस् वा काभ्रेको पतञ्जली जग्गा प्रकरण । सामान्य सरकारी कर्मचारी, अर्बपति व्यापारीदेखि पूर्वप्रधानमन्त्रीसम्म जोडिएका जग्गा काण्डहरु सतहमै आएका छन् ।
लामो समयदेखि गुपचुप दबाइदै आएको कलंकीको जग्गा काण्डका पीडितहरु पनि यतिबेला न्याय खोज्दै भौतारीरहेका छन् । कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ मा रहेको गुठीसम्बद्ध जग्गा यतिबेला केही नीजि हाउजिंग कम्पनीले हात पारेका छन् । उनीहरु साँधमा रहेको ८ रोपनी प्रतिजग्गा समेत आफ्नो नाममा ल्याएर सरकारी सम्पत्ति हिनामिना गरेको उजुरी अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । समाजप्रेस डटकमलाई प्राप्त कागजातमा कलंकी लायकुफाँटको प्रतिजग्गा समेत हत्याउनेमा लाइफ स्टाइल हाउजिंग र फ्युचर भेन्चर्स प्रा.लि.को नाम जोडिएको छ । दुवै कम्पनीमा पूर्व सभाषद एवं राप्रपा नेता राजकुमार अग्रवाल संलग्न छन् । सरकारी जग्गासमेत हडप्ने गरी सो स्थानमा हाउजिंग बनाउने तयारी भइरहेको छ ।
यसबारेमा जानकारी लिन सम्पर्क गर्दा अग्रवालले जग्गाको बारेमा आफू केही पनि नबोल्ने भन्दै फोन काटे । त्यसयता उनको मोबाइल निरन्तर स्वीच अफ रहेको छ । निजले जग्गा प्रकरणमा बोल्न नखोज्नुमै कैफियत भएको पीडितहरुको आरोप छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij