यतिबेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा छन्। सोही बेला उनको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गरेको अभियोगमा एक नेपाली महिला कारागार चलान भएकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत महिना पक्राउ गरेकी सुरुचि भुजेललाई जिल्ला अदालत काठमाडौँले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो।
भूकम्पले क्षतिग्रस्त टर्कीका भवन पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत त्यहाँ लाने प्रलोभन देखाएर ९० जनाबाट २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगी गरिएको जाहेरी परेपछि सीआईबीले भुजेललाई पक्राउ गरेको थियो।
राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको भनी टर्कीबाट रोजगारीको माग भएको भनी आफूहरूबाट भुजेललगायतले ठगी गरेको पीडितहरूले जाहेरीमा उल्लेख गरेका छन्।
सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत ७ वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।
सो ठगीमा प्रहरीले सुरुचिका पति विनोद श्रेष्ठ र भाइ सुजन भुजेललाई पनि प्रतिवादी बनाएको छ। हाल उनीहरू फरार छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij