नेपालको राजनीतिमा शुद्धता, पारदर्शिता र जनउत्तरदायी नेतृत्वको आवश्यकता झन् बढी महसुस भइरहेको छ । यस्तो परिस्थितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला एक प्रतिबद्ध, शालीन र सुधारवादी नेताका रूपमा अघि सरेका छन् । चिकित्सा क्षेत्रको सुदीर्घ अनुभव बोकेका कोइरालाले राजनीतिलाई सेवा र उत्तरदायित्वको माध्यमका रूपमा बुझ्ने दृष्टिकोण राख्दै आएका छन् । उनी आर्थिक सुधार, विकास र भ्रष्टाचारविरुद्धको लडाइँमा स्पष्ट र निर्भिक ढंगले उभिँदै आएका छन् ।
विकासप्रतिको दृष्टिकोण
डा. कोइरालाको अभिव्यक्तिमा सधैं विकासले प्राथमिकता पाएको देखिन्छ । विकास भनेको केवल ठूला आयोजना होइन, जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने कार्य हो भन्ने उनको भनाइले विकासको परिभाषा स्पष्ट गर्छ । उनी ग्रामीण पूर्वाधार, कृषि उत्पादन, स्वदेशी उद्योग तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको पक्षमा दृढ अडान लिन्छन् । उनका अनुसार नेपालले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नसक्छ । यद्यपि त्यसका लागि दीर्घकालीन योजना, राजनीतिक स्थायित्व र इमानदार कार्यान्वयन अनिवार्य छ । कोइराला बारम्बार भन्छन् — “आयातमा आधारित अर्थतन्त्रले दीगो समृद्धि सम्भव छैन, स्थानीय उत्पादन र रोजगारीलाई बढावा दिनु जरूरी छ ।”

आर्थिक सुशासनको माग
डा. कोइराला सुशासनको परिभाषालाई केवल कानुनी प्रक्रियामा सीमित नराखी, नीतिगत स्पष्टता, कार्यान्वयनको जवाफदेहिता र आर्थिक पारदर्शितासँग जोड्छन् । सार्वजनिक खर्चमा पारदर्शिता नहुँदा विकासको अपेक्षित परिणाम नआउने भन्दै उनले बारम्बार संसद र सार्वजनिक मञ्चहरुमा आवाज उठाउँदै आएका छन् ।
उनको नजरमा बजेट निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियामा नागरिकको पहुँच र निगरानी हुनुपर्छ । तबमात्रै आर्थिक सुशासन स्थापित हुनसक्छ । उनी भन्छन् – निजी स्वार्थ होइन, राष्ट्रहित केन्द्रमा राखी आर्थिक नीति बनाउनुपर्छ ।
भ्रष्टाचारविरुद्धको स्पष्ट अडान
डा.शेखर कोइराला भ्रष्टाचारलाई नेपालको विकासमा मुख्य बाधक मान्छन् । ‘भ्रष्टाचारको संरक्षण गर्ने नेतृत्वले देश बनाउँछ भन्ने अपेक्षा गर्नु आफैमा धोका हो’ भन्ने उनको भनाई निकै चर्चित छ । सत्ता पक्ष होस् वा विपक्ष, उनले कुनै पनि पार्टी वा व्यक्तिको नाम नलिई संस्थागत ढाँचामा सुधारको आवश्यकता औल्याउने गरेका छन् । उनका अनुसार –भ्रष्टाचारमुक्त प्रशासन नै आर्थिक समृद्धिको आधार हो ।
शालीनता र समाधानमुखी राजनीति
डा. कोइरालाको राजनीतिमा नम्रता र शालीनता झल्किन्छ । विरोध गर्नुपर्दा पनि उनी तथ्यमा आधारित भएर, राजनीतिक मर्यादा नछोडी प्रस्तुत हुन्छन् । उनले राजनीतिक प्रतिस्पर्धालाई दुश्मनी होइन, विचारको संघर्षका रूपमा लिन्छन् । यही कारणले उनी कांग्रेसभित्र ‘सुधारको स्वर’ बनेका छन् । उनी नेपालको राजनीतिक वृत्तमा इमान्दारी, शालीनता र दूरदर्शिता बोकेको नेतृत्वको रुपमा स्थापित छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij