२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । तुइन खोला नजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधन बाटोमै रोकिएका छन् ।

यस बाहेक वर्षापछिको बाढी पहिरोका कारण आज देशका विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलामा आएको बाढीले अस्थायी डाईभर्सन बगाएको छ। जसका कारण सवारी आवागमन दुईतर्फी बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेडेटार सडक एकतर्फी खुलाइएको छ। अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै, पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij