२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले एक खर्ब १७ करोड रुपैयाँ बराबर रकम खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले एक खर्ब ६१ अर्ब ७७ करोड स्रोत परिचालन गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि ६० अर्ब उपलब्ध गराएको थियो ।

सशर्त अनुदान २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड उपलब्ध गराएको थियो ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा सङ्घीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी एक खर्ब २३ अर्ब १५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार, गत वैशाख मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब ३६० अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ साल असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकमसमेत) नौ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व आठ खर्ब २८ अर्ब ९४ करोड र गैरकर राजस्व ९३ अर्ब ४९ करोड परिचालन भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ को दश महिनामा सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ ।

समीक्षा अवधिमा चालु खर्च सात खर्ब ७३ अर्ब २३ करोड, पुँजीगत खर्च एक खर्ब २० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च दुई खर्ब ६४ अर्ब २९ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij