२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए

इजरायल-हमास युद्धबाट ३५ सयले ज्यान गुमाए

काठमाडौं : गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ।

इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ। ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ।

मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन्। प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १३ सय पुगेको छ। जसमा विदेशीको संख्या १ सय छ। इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ।

इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ। उनी इजरायल(लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन्।​

रोयटर्सका अनुसार अल्मा अल-शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन्। आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ। मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij