काठमाडौँ- प्यालेस्टाइनको लडाकु समूह हमासको आक्रमणपछि अलपत्र परेका नेपाली विद्यार्थीहरूले सुरक्षित भनेको ठाउँमा पनि असुरक्षित भएको बताउँदै तत्काल उद्धार गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
सोमबार दिउँसो युद्धग्रस्त क्षेत्रबाट स्थानान्तरण भएका विद्यार्थीहरूले मंगलबार एक भिडिओ सन्देशमार्फत अहिले बसिरहेको ठाउँ पनि असुरक्षित भएको बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीहरूमध्ये ३२ जनालाई रेस्क्यू गरिएको सरकारले बताएको छ।
तर, रेस्क्यू भएको ठाउँमा अहिले पनि आफूहरूले सुरक्षित महसुस नगरेको बताउँदै उनीहरूले प्रश्न गरेका छन्– ‘हामीलाई पनि १० जना साथीहरूजस्तै विलिन भएको देख्न चाहनुहुन्छ?’
हमास समूहको आक्रमणमा परी सोही समूहका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूको शव पनि सरकारले अहिलेसम्म ल्याउन सकेको छैन।
रेस्क्यू भएर आएका थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूको उद्धार भइसकेको भएपनि आफूहरू विचल्लिमा परेको उनीहरूको गुनासो छ।
‘हिजो साँझ हामी यहाँ आउँदा थाइल्यान्ड र कम्बोडियाको विद्यार्थीहरू आएका थियौं। थाइल्यान्ड र कम्बोडियाका विद्यार्थीहरूलाई हिजो साँझ उनीहरूको देशको प्लेन आएर रेस्क्यू गरेर लगिसक्यो। तर हाम्रो देशको अहिलेसम्म टुंगो छैन। मिटिङ बस्दैछौं भनिरहेको छ,’ सोही समूहमा रहेका विद्यार्थी लुइस रिजालले भनेका छन्।
‘५ दिन भइसक्यो बमको आवाज गर्जेको गज्र्यै छ। अहिले यो ठाउँ सुरक्षित भनेको मात्र हो। यहाँ हामीलाई रिलोकेट गरिएको मात्रै हो,’ अर्का एक विद्यार्थीले भिडिओ सन्देशमा भनेकी छिन्, ‘हामी याँ पूर्ण रुपमा सुरक्षित छैनौं। यहाँबाट इजरायली मान्छेलाई भ्याकेसनमा जाऊ भनेर भनिसकेको छ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij