२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिसापाङमा हिमाल आरोहणमा गएका दुई जनाको मृत्यु, दुई बेपत्ता

सिसापाङमा हिमाल आरोहणमा गएका दुई जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं : तिब्बतको सिसापाङमा हिमाल आरोहणमा गएका दुई जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ। ‍दुई जना बेपत्ता छन्।

शनिबार दिउँसो सिसापाङ हिमालको सात हजार ९ र सात हजार सात मिटरमा दुई वटा हिमपहिरो गएको हो। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार ​हिमपहिरोमा परेर अमेरिकी महिला आरोही अन्ना गुटु र उनका गाइड मिङ्‌मार शेर्पाको मृत्यु भएको छ।

उनीहरुको शव फेला परेको छ। उनीहरुको शव अहिले बेसक्याम्पमै रहेको र काठमाडौं ल्याउने तयारी भइरहेको गुरागाईँले बताए। अमेरिकी आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा शेर्पा भने बेपत्ता भएका छन्।​

तेन्जेनले केही समयअघि मात्रै नर्वेकी क्रिस्टिन हरिलासँगै ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए।त्यस्तै, कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा र अर्का एक घाइतेको उद्धार गरेर बेसक्याम्प ल्याइएको छ।

घाइतेको उद्धार र हराएकाहरुको खोजी गर्न काठमाडौंबाट हेलिकप्टर पठाउनुपर्ने भए पनि अहिलेसम्म जान सकेको छैन। ​ सिसापाङमा हिलमा नेपालको सीमाबाट दुई दिनको दूरीमा तिब्बतमा रहेको हुँदा चिनियाँ दूतावासको अनुमति लिनुपर्छ। आइतबार दूतावास बन्द भएका कारण आज अनुमति लिएर हेलिकप्टर पठाउने तयारी छ।

आठ हजार मिटर अग्लो सिसापाङमा हिमाल विश्वको चौधौं अग्लो हिमाल हो। हिमपहिरो जाँदा अमेरिका, बेलायत, रोमानिया, अल्बानिया, इटाली, जापान र पाकिस्तानका गरी ५२ आरोही आरोहण यात्रामा थिए। खराब मौसमका कारण केही अगाडि नै आरोहण त्याग गरेका दुई पाकिस्तानी भने पहिरोबाट जोगिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij