झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले संविधान संसोधन २०८७ मा मात्रै हुने अभिव्यक्तिप्रति विमति जनाएका छन् । झापाको कचनकवलमा बुधबार भएको कार्यक्रममा उनले ओलीको गृह जिल्लाबाट विमति जनाएका हुन् ।
‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सातबुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो नागरिकको अपेक्षा, के हो पार्टीका साथीहरूको अपेक्षा, गाउँगाउँको अपेक्षा के हो भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले एमालेको बैठक हुँदै गर्दा भन्नुभएको संविधान संशोधन २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु ।’
०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाइने उनको बताए । ‘बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले अध्यक्षलाई छैन,’ उनले भने ।
महामन्त्री शर्माले १७ असारमा कांग्रेस र एमालेबीच सात बुँदे समझदारी हुँदा संविधान संशोधनको आवश्यकताको जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनिएको बताए । ‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादीको सहभागिता भएन भने दुई तिहाईको गणित पुग्दैन। हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौं प्रधानमन्त्रीज्यू,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij