२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

पार्टी विहिन भीम रावल

पार्टी विहिन भीम रावल

बुधबार बसेको नेकपा एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यबाट मुक्त गर्दै एमालेमा सधैक लागि ढोका बन्द गरिदिएको छ ।

सचिवालय बैठकको निर्णय सार्बजनिक गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले भने- ‘कमरेड भिम रावलले उहाँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभो । उपाध्यक्षका लागि आग्रह गरिएकामा उहाँले मान्नुभएन। त्यसपछि हाम्रो केन्द्रीय सदस्यमा पनि नआउनुभएपछि वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो । अभिव्यक्तिहरू पनि पार्टीलाई बलियो बनाउने भन्दा पार्टीलाई निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ ।’

एमालेले कारवाही गरेर सदस्यबाट निकालेपछि भीम रावलले यो निर्णय अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गरेका छन् । तर उनले आफ्नो राजनीतिक भविष्यको बारेमा स्पष्ट बताएका छैनन् । राष्ट्रवादी नेताको छबी बनाएका रावल अब पार्टी बिहिन बनेपछि उनले अब एकीकृत समाजवादीमा प्रवेश गर्ने, क्षेत्रीय दल खोलेर सुदूरपश्चिममा राजनीति गर्ने वा अन्य दलमा जानसक्ने अनुमान समेत शुरु भएको छ । पछिल्लो समय एमाले भित्र पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाइरहेको समेत चर्चा भइरहेका बेला ओली पक्षले उनलाई पार्टी बाटै निष्काशित गरेको छ ।

२०१३ मा अछाममा जन्मिएका रावल २०३० सालमा कम्युनिस्ट विद्यार्थी राजनीतिमा लागेका थिए । राधाकृष्ण मैनालीबाट नेकपा मालेको सदस्यता पाएको बताउने रावलले २०४८ मा एमालेको प्रचार विभाग सदस्य बनेका थिए । २०४८ को संसदीय निर्वाचनमा पराजित भएका रावल ०५१ मा भने निर्वाचित भएका थिए । त्यसयता उनी पटक–पटक मन्त्री देखि उपप्रधानमन्त्रीसम्म बनेका छन् । एमालेको छैठौं (०५४) र सातौं (०५९) महाधिवेशनमा केन्द्रीय सदस्य बनेका रावल आठौं (०६५) महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । नवौं (०७१) महाधिवेशनमा भने रावल उपाध्यक्षमै सर्वाधिक मतसहित विजयी बनेपछि उनको एमालेमा प्रभाव बढेको थियो ।

१० वर्ष सेती अञ्चल इञ्चार्ज र प्रदेश संरचनामा गएपछि उनी पार्टीको प्रदेश इन्चार्ज नै बनेका थिए । यस्तै माओवादी केन्द्रसँग एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको समेत सुदूरपश्चिम इन्चार्ज बनेका थिए ।

२०७४ को स्थानीय तह निर्वाचन र संसदीय निर्वाचन रावल र एमालेका लागि सुदूरपश्चिममा राम्रो नतिजा आएको थियो । जसको जस एकलौटी रावलले लिएका थिए । २०७४ को संसदीय निर्वाचनपछि बनेको सरकारमा आफूलाई मन्त्री नबनाएपछि रावल ओलीको आलोचना गर्न शुरु गरेका थिए ।

त्यसपछि उनी ओलीको आलोचक बन्दै खासगरी माधव नेपालको पक्षमा रहेका थिए । तत्कालिन नेकपा बिभाजन भएर पुरानै अवस्थामा फर्किए पछि माधव नेपालले एकीकृत समाजवादी पार्टी खोले पछि रावल एमालेमै बसेका थिए ।  एमाले विभाजनलाई रोक्न समेत प्रयास गरेपनि अन्तत: उनले माधव नेपाललाई साथ नदिएर उनीसहितका १० नेताले‘१० बुँदे सहमति’ गरेर उनीहरू एमालेमै बसेका थिए ।

यसैक्रममा २०७८ मंसिरमा भएको एमालेको १०औं महाधिवेशनमा ओलीको सर्वसम्मत् अध्यक्ष हुने प्रयासमा रावलले अवरोध गर्दै उम्मेदवारी दिएका थिए । निर्वाचनमा ओलीले एक हजार ८३७ मत पाएर अध्यक्षमा विजयी भए भने रावलले २२३ मत पाएक थिए ।

अध्यक्षमा पराजित भएपछि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका थिए । त्यसपछि लगातार ओलीको आलोचना गरिरहेपछि रावलले स्थानीय तहको निर्वाचनमा कुनै जिम्मेवारी पाएनन् भने २०७९ को प्रतिनिधिसभा निर्वाचनमा टिकट पनि पाएनन् । अछाम–१ बाट एकल नाम सिफारिस भएर आउँदा पनि उनलाई एमालेले टिकट दिएन् । रावलले प्रतिनिधि सभामा कुनै भूमिका नै पाएनन् । त्यसयता रावल सधै एमालेको आलोचकको रुपमा बोल्दै आएका थिए ।

अब पार्टीले सदस्यबाट समेत निकालेपछि अब रावलको राजनीतिक यात्रा कसरी अगाडी बढ्छ त्यो भने आगामी दिनमा स्पष्ट हुनेनै छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij