काठमाडौँ- कात्तिकमा ५.६ प्रतिशत मूल्यवृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ५.३८ प्रतिशत रहेको मूल्यवृद्धिदर बढेर ५.६ प्रतिशत पुगेको हो।
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.६५ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्य वृद्धिदर क्रमशः ६ प्रतिशत र ५ प्रतिशतले रहेको थियो।
चार महिनामा तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा धेरै ३४ प्रतिशत पुगेको छ।
दाल तथा गेडागुडीको १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ। तर, यो समूहअन्तर्गत रहेको मरमसला उपसमूहको मूल्यवृद्धि १.४१, चिनी तथा चिनीजन्य पदार्थको १.२८ र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.४१, मदिराजन्य पेय पदार्थको ६.३५, कपडाजन्य तथा जुत्ता चप्पलको ४.५७ र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
उता नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ। आज संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो।
शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्नेछ। यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो।
यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकेको थियो।
संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij