काठमाडौँ- इलेक्ट्रिक सिग्रेट (भेप) को ९ किलो सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कागज गरेर छाडिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनका छोरा राहुललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर सुन छुटाउन फोन गरेर दबाब दिएका बाबु कृष्णबहादुर महरालाई भने प्रतिवादी नबनाउने भएको हो। प्रतिवादी नबनाउनकै लागि सीआईबीले उनको कागज मात्रै गराएर छाडेको हो।
यसअघि कृष्णबहादुर महराका बाबु छोराकै संलग्नता देखिएको अनुसन्धान प्रतिवेदन बुझाएको सीआईबीले उनीहरुसँग कागज समेत गरेको थिएन।
सीआईबीको अनुसन्धान प्रतिवेदनमै महराबाबु छोराको चिनियाँ तस्करसँग सिधा टेलिफोन सम्पर्क देखिएको र भन्सारमा सुनसहितको भेप रोकिएपछि छुटाउन समेत दबाब दिएको प्रतिवादीको बयान समेत संलग्न गरेको थियो।
सीआईबीको अनुसन्धान प्रतिवेदनमा उनीहरुको संलग्नता रहेको भन्ने उल्लेख भएसँगै महराबाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआईबीलाई दबाब परेको थियो। तर छोरा राहुललाई भदौ १३ गते पक्राउ गरे पनि बाबुमाथि भने कुनै अनुसन्धान नगरी कागज मात्रै गराइएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij